नागरिक पोष्ट News


मुलुकमा विभिन्न उद्योग स्थापनाका लागि चालू आर्थिक वर्षको ७ महिनामा ८२ अर्ब ३३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ

1.7K

काठमाडौं, १६ फागुन । मुलुकमा विभिन्न उद्योग स्थापनाका लागि चालू आर्थिक वर्षको ७ महिनामा ८२ अर्ब ३३ करोडभन्दा बढी लगानी स्वीकृत भएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्ममा उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीकर्ताले कुल ८२ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ लगानी विभागबाट स्वीकृत गराएका हुन् ।

चालू आवको पहिलो ७ महिनामा उद्योग क्षेत्रका लागि आएको लगानी गत आवको सोही अवधिको तुलनामा भने कम हो । गत आवको माघ मसान्तसम्ममा लगानीकर्ताबाट १ खर्ब ९ अर्ब ७३ करोड ६५ लाख लगानी प्रतिबद्धता आएको थियो, जुन चालू आवको भन्दा २४ प्रतिशत अर्थात् २७ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बढी हो ।

चालू आवको ७ महिनामा लगानीकर्ताहरूले सबैभन्दा बढी लगानी ऊर्जा क्षेत्रका लागि स्वीकृत गराएका छन् । यस क्षेत्रका लागि उनीहरूले ६१ अर्ब ४८ करोड ७८ लाख लगानी स्वीकृत गराएका हुन् । यसपछि उत्पादनमा ७ अर्ब २ करोड ८१ लाख, कृषि तथा वन पैदावरमा ३ अर्ब ५५ करोड, पर्यटनमा ४ अर्ब २६ करोड ५७ लाख, सेवामा ३ अर्ब ६५ करोड ७८ लाख, खनिजमा १२ करोड ३४ लाख, पूर्वाधारमा १ अर्ब ५७ करोड ४४ लाख र सूचना, सञ्चार तथा प्रविधिमा ६५ करोड लगानी विभागबाट स्वीकृत भएको छ ।

लगानीकर्ताहरू ११९ वटा उद्योग स्थापनाका लागि उक्त लगानी स्वीकृत गराएका हुन् । उक्त संख्यामा उद्योग स्थापनापछि ६ हजार ९०४ जनाले रोजगारी पाउने बताइएको छ ।

Must View