नागरिक पोष्ट News


तारकेश्वर १० मा वडा कार्यालय भवन शिलान्यास

1.7K

१३ फागुन, काठमाडौं । तारकेश्वर वडा नं. १० को प्रशासनिक भवनको शिलान्यास भएको छ । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा बन्ने भवनको शिलान्यास संघीय सांसद् भिमसेनदास प्रधान र तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोराले आज संयुक्त रूपमा गर्नुभएको छ ।

तारकेश्वर नगरपालिकाको मुटु क्षेत्र र मनमैजु पुरानो ऐतिहासिक वस्तीको नजिक भएकाले पनि स्थानीय उपभोक्ताहरुले उक्त प्रशासनिक भवन मनमैजुको पुरानो संस्कृति र पहिचान झल्कने गरी बनाउन वडा कार्यालयलाई सुझाव दिने बताएका छन् ।

तारकेश्वर नगरपालिकाको ७० लाख बजेट र संघीय सांसद् कोषको २० लाख गरी ९० लाखमा उपभोक्ता समितिबबाट भवन निर्माण हुने तारकेश्वर वडा नं. १० का अध्यक्ष अमृत थापाले बताउनुभयो । थापाकाअनुसार नयाँ बन्ने भवनमा भुई तलामा १० बेडको शहरी स्वास्थ्य केन्द्र, दोस्रोमा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ ।

उपभोक्ता समितिलाई आर्थिक वर्ष २०७७/७८ मै निर्माण सक्ने गरी कामको जिम्मा दिइएको छ । भवन निर्माण गर्दै जाँदा नपुग हुन् आएको रकम तारकेश्वर नगरपालिकाले थप गर्ने बुझिएको छ ।

भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि भिमसेनदास प्रधान, विशेष अतिथिमा नगर प्रमुख रामेश्वर बोहरा, उपप्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिव लम्साल, नेकपा तारकेश्वरका अध्यक्ष लवकुमार बस्नेत, नेपाली काँग्रेसका वडा नं. १० का सभापति कुमार राई, वडा सचिव बेदु सुवेदी लगायतका वडा नं. १० का जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा टोल सुधार समिति र महिला समूहको पनि उपस्थिति रहेको थियो ।

जग पुजा र साइतको काम वडा अध्यक्ष अमृत थापाले गरेपछि प्रमुख अतिथि र विशिष्ट अतिथि नगर प्रमुखबाट संयुक्त रुपमा शिलान्यास भएको थियो । शिलान्यास पछि उपप्रमुख भवानी डोटेल धिताल र प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले पनि जगमा पुजा गर्नुभएको थियो ।

तारकेश्वर वडा नं. १० को लोकतान्त्रिक चोकमा बन्ने वडा कार्यालयको भवन नगरपालिका भित्रका अन्य वडाहरुको भन्दा फरक हुने बुझिएको छ । सक्रिय वडाअध्यक्ष अमृत थापाको कामको समग्र मुल्याङ्कनलाई उत्कृष्ठ रूपमा वडाबासीले प्रशंसा गरिरहेका कारण पनि वडा कार्यालय भवनलाई मौलिकता र पहिचान झल्कने बनाउन स्थानीयहरुले चाहेका छन् ।

Must View