कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाए
काठमाडौं, कोभिड–१९ विरुद्धको खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा ४ लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको जानकारी दिए ।
सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको थियो । मन्त्रालयले पहिलो प्राथमिकता परेका व्यक्तिका लागि पहिलोपटक माघ १४ देखि २४ गतेसम्म र दोस्रोपटक फागुन २ देखि १० गतेसम्म दोस्रोपटक खोप अभियान सञ्चालन गरेको थियो ।
पहिलो चरणको अभियानको पहिलोपटक एक लाख ८९ हजार ३४५ जनालाई खोप र दोस्रोपटक दुई लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको छ । अनुसार पहिलो अभियानको खोप ८५.६५ प्रतिशत उपलब्धि हासिल गरिएको मन्त्रालयले बताएको छ । पहिलो अभियानमा पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने योजना थियो ।
मन्त्रालयले यही फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्दैछ । खोप अभियान सञ्चालनका लागि भारतबाट १० लाख मात्रा खोप नेपाल आइसकेको छ ।