नागरिक पोष्ट News


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने

1.4K

काठमाडौं, १० फागुन । भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने भएको छ । भौतिक संरचनामने लगभग सकिएको भन्दै विमानस्थल निर्माण आयोजनाले आगामी तीन महिनाभित्रै सञ्चालनमा आउने बताएको हो । आयोजनाका अनुसार हाल विमानस्थलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ ।

यस्तै प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनामा हाल नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको र विदेशी दक्ष प्राविधिक जनशक्ति समेत धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको बताइएको छ । विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण करीब १०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य प्रगति भएको थियो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रूपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

Must View