नागरिक पोष्ट News


तारकेश्वर नगरपालिका वडा नं. १० को मनमैजुमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

2.1K

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० को मनमैजुमा आज जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगर महिला बालबालिका तथा समाज कल्याण साखाले तारकेश्वरका सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई कपडा वितरण कार्य गर्दै आइरहेको महिला बालबालिका साखा प्रमुख प्रतिमा मिश्रले बताउनुभयो ।

आज तारकेश्वर वडा नं. १० को कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा वडा अध्यक्ष अमृत थापाको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि अमृत थापाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । वडा अध्यक्ष अमृत थापा, वडा सदस्यहरु र वडा सचिवको हातबाट ७० वर्ष भन्दा माथिका जेष्ठ ९६ जना नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै उक्त स्थानमा जेष्ठ नागरिकहरुलाई निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा जेष्ठ नागरिकहरुको लागि निःशुल्क आँखा शिविर तथा प्रयोगशाला परीक्षण कार्यक्रम सम्पन्न भएको हो। तिलगंगा आँखा अस्पताल र नेपाल आँखा अस्पतालको सहयोगमा विशेषज्ञहरुबाट आँखा परिक्षण गरिएको थियो । चस्मा आवश्यक पर्नेहरुका लागि चस्मा वितरण समेत गरिएको छ ।

आँखा शिविरमा आएकाहरुको मोतिबिन्दुको अपरेसन गर्नुपर्नेहरुका लागि केही समयपछि निःशुल्क अपरेसन गरिने भएको छ । आज नगर स्सास्थ्य साखाले सुगर र प्रेसरको परिक्षण समेत गरेको थियो । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको मात्र आँखा परीक्षण गरिएको तारकेश्वर नगर स्वास्थ्य शाखाले जानकारी दिएको छ।

आजको कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण साखा प्रमुख प्रतिमा मिश्रले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै नगर स्वास्थ्य साखा प्रमुख विदोद शाहले नगर प्रमुखको निर्देशनअनुसार सबै वडाहरुमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र आँखा परिक्षण गरेर चस्मा वितरण गरेको बताउनुभएको छ । मोतिविन्दु भएकाहरुको निकाल्ने काम हुन्छ । ११ ओटै वडाका मोतिविन्दूहरुको निःशुल्क अपरेसन गरिने भएको छ ।

नगर स्वास्थ्य साखाले तारकेश्वर नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सुगर र प्रेसरको औषधी एक वर्षका लागि एकैपटक घर–घरमा लगिदिने कार्यक्रम नगरले ल्याउन लागिरहेको विनोद शाहले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष अमृत थापाले स्थानीय सरकार आइसकेपछि पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको हुँदा तारकेश्वर १० मा ८० प्रतिशत बाटोहरु पक्की भइसकेका छन् । जेष्ठ नागरिक मिलन केन्द्र लोकतान्त्रिक चोकमा स्थापना गरिसकेको हुँदा त्यहाँ आएर भजन किर्तनसँगै पार्क घुमेर मनोरञ्जन लिन सकिने व्यवस्था गरेका छौं । त्यस्तै अपाङ्ग भएका व्यक्तिहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको वडाअध्यक्ष थापाले बताउनुभयो ।

Must View