14 February प्रणय दिवस : विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै
काठमाडौं । 14 February प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।
हुन त हामीले सुन्दै पनि आएका हौँ, ‘एकजना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राटको आदेश विपरित प्रेम जोडीहरुको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राटले सेन्टलाई मृत्युदण्ड दिए ।
त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ ।’ मूलधारका इतिहासकारहरुले यसैलाई भ्यालेन्टाइन्स डेको प्रादूर्भावको रुपमा लिन्छन् ।