कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गर्नुभएको हो । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका निम्ती सरकार लागिरहेको बताउँदै उहाँले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उहाँले समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताउनुभयो ।‘यो जमाना श्रमलाई सम्मान गर्ने जमाना हो । श्रमसँग जोडिदै श्रमसँग जोडिएका उत्पादक किसानलाई सम्मान गर्ने जमाना हो । चौतारीमा बस्ने, टालटुल गर्ने, ठगठाग गर्ने जमाना गए’, मन्त्री अर्यालले भन्नुभयो, ‘गरेर खाने प्रवृत्तिको विकास गर्नका निम्ती सबै युवाहरु लाग्न आवश्यक छ । तपाईहरुले सिधै उत्पादक किसानहरुसँग सम्बन्ध राख्नुस ।’अहिले उत्पादनको समस्या नभएको भन्दै उहाँले उत्पादित वस्तुले बजार पाउदैन की भन्ने समस्या रहेको उल्लेख गर्नुभयो । बजारको समस्याको अन्त्य गर्नका निम्ती जमिनको चक्लाबन्दी गरी ठूलो परिमाणमा उत्पादन बढाउनुपर्ने उहाँको भनाई थियो ।
कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने उहाँको भनाई थियो ।