नागरिक पोष्ट News


महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन

1.3K

काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासित कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आजदेखि खुला गरिएको आईपीओमा आज सार्वजनिक विदा परेकोले छिटोमा आगामी फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । यसअघि माघ २८ गतेदेखि आईपीओ खुल्ला गर्ने निर्णय गरेको थियो ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यअर रेटिङ डबल बी’ प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ६ करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासनपश्चात पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

Must View