४० वर्ष भन्दा कम उमेरका महिला विदेश जाँदा अब अनिवार्य चाहिन्छ यस्ता कागजपत्र
काठमाडौ । ४० वर्ष भन्दा कम उमेरका महिला एक्लै विदेश जान चाहे अब फेरी नयाँ कागजपत्र चाहिने भएको छ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। त्यसका लागि केही अनिवार्य कागजपत्र पेश गर्नुपर्नेछ ।
विभागले अध्यागमन कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको हो। सो प्रस्ताव पास भए ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश जाँदा अब वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने छ । त्यस वाहेक पारिवारिक सहमति अनिवार्य चाहिने ब्यवस्था हुने भएको छ ।
महिलाहरुलाई फकाएर गलत काममा लगाउन विदेश लैजाने बढेपछि यस्तो नियम लागू गर्न लागिएको हो । विदेशमा अलपत्र परेकाहरुलाई उद्दारमा समेत कठिनाई हुने भएकाले उनीहरुको रेकर्ड स्थानिय तहमा राख्न वडा कार्यालयको सिफारिस अनिवार्य गराइएको हो ।
विभागले कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको छ। गृहको कानुन शाखामा आवश्यक छलफल भई कार्यविधि चाँडै लागू हुने विभागका सूचना अधिकारी टेकनारायण पौडेलले बताए।
कतिपय महिलाहरू परिवारको सहमतिबेगर पनि हिँड्ने र समस्यामा पर्ने गरेका कारण यस्तो नियम लागू गर्न खोजिएको हो । त्यसरी विदेश जाने महिलाका लागि पन्ध्र लाखसम्मको निर्जीवन दुर्घटना बिमा अनिवार्य बनाउनुपर्ने छ।