नागरिक पोष्ट News


शेयर र घरजग्गा कारोबारी भने बढे, कुन बैंकले कति कर्जा प्रवाह गरे ?

1.9K

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गाडी कर्जा घटेको छ भने मार्जिन ल्याण्डिङ र रियल स्टेट कर्जा भने बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस महिनामा गाडी कर्जा घटेर एक खर्ब ६६ अर्ब ३७ करोडमा सीमित भएको छ । मंसिर महिनामा हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब ६८ अर्ब २४ करोड कर्जा प्रवाह गरेका थिए ।

गत आर्थिक वर्षको पुससम्म हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाहरूले एक खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेका थिए । कोभिडका कारण अर्थतन्त्र थलिएपछि गाडी कर्जा लिने घटेका हुन् । पुरानो कर्जा म्याच्युरिटी हुँदै गएको र नयाँ कर्जा लिने नथपिएकाले कर्जा प्रवाह नै घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । हायर पर्चेजमा बैंक तथा वित्तीय संस्थाले ६५ प्रतिशतसम्म कर्जा दिने गरेका छन् । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हायर पर्चेज कर्जा लिने घटेपनि रियल स्टेटमा कर्जा र मार्जिन ल्याण्डिङ कर्जा भने बढेको छ । पुसमसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मार्जिन ल्याण्डिङ कर्जा बढाएर ७५ अर्ब ७० करोड पुर्याएका छन् । गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको यो क्षेत्रमा ६७ अर्ब ८५ करोड कर्जा प्रवाह गरेका थिए ।

गत आर्थिक वर्षको पुससम्म भने ४५ अर्ब ६७ करोडमात्रै थियो । १ वर्षमा मार्जिन ल्याण्डिङ कर्जा ६५.७६ प्रतिशतले बढेर ७५ अर्ब ७० करोड पुगेको हो । पछिल्लो समय शेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । बुलिश ट्रेनमा रहेको शेयर बजारमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा कर्जा लिएर लगानी गर्ने लगानीकर्ताहरू बढेका हुन् । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा ६५७० प्रतिशतसम्म कर्जा दिने गरेका छन । 

त्यसरी नै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा घरजग्गा (रियल स्टेट) कर्जा पनि उलेख्य रुपमा बढेको छ । बैंक तथा वित्तीय संस्थाले चालु आवको यो अवधिसम्म एक खर्ब ६८ अर्ब ६६ करोड रियल स्टेट क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । गत महिनासम्म यस्तो कर्जा एक खर्ब ६७ अर्ब ५५ करोड थियो भने गत आवको पुस महिनामा जम्मा एक खर्ब ६१ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह गरेका छन् । 

नेपाल राष्ट्र बैंकले घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हु्ने कर्जाको सम्बन्धमा कर्जा सुरक्षण मूल्य अुनपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गरेको छ । अर्थात घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्दा काठमाडौं उपत्यकामा धितोको ४० प्रतिशत र उपत्यका बाहिर धितोको ५० प्रतिशतसम्म कर्जा पाउने छन् । 

कोभिडकै बीच खुलेको आर्थिक गतिविधिमा रियल स्टेट क्षेत्रमा आर्कषण देखिएको छ । घरजग्गा कारोबार बढेसँगै बैंकमा कर्जा लिनेको संस्था पनि बढेको हो । सुरक्षित लगानीको खोजीमा रहेका लगानीकर्ताहरूले यो क्षेत्रमा लगानी बढाउन थालेका छन् ।

Must View