प्रचण्ड–नेपाल पक्षको आमहड्तालः भोलि के–के बन्द हुन्छ ?
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार २०७७ साल माघ २२ गते देशभरी आम हड्ताल घोषणा गरेको छ । २०७७ साल माघ २१ गते बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दैै प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आम हड्ताल घोषणा गरेको हो । त्यसका लागि आजै साँझ मसाल जुलुस निकालिनेछ ।
संवैधानिक आयोगमा नियुक्तिविरुद्धको मुद्दा टुङ्गो नलाग्दै सरकारले संवैधानिक आयोगमा पराधिकारीको नियुक्ति गर्दै सपथ गराएको भन्दै उक्त समूहले आम हड्ताल घोषणा गरेको हो ।
आमहडताल शान्तिपूर्ण हुने प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । आम हड्तालका कारण जनतालाई पर्ने कष्टप्रति क्षमा माग्दै संविधानको रक्षाका लागि आमहड्ताल गरिएको श्रेष्ठले दाबी गरे ।
संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशताको पराकाष्टा भएको श्रेष्ठले आरोप लगाए । ‘भोलिको आमहड्ताल सरकारले बलमिच्याइँको रूपमा गरेको नियुक्तिको प्रतिरोधमा गरिएको हो,’ प्रवक्ता श्रेष्ठले भने ।
त्यस्तै प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले सवैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहे पनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ ।