नागरिक पोष्ट News


१९ वर्षीया सृष्टि गोस्वामी बनिन् मुख्यमन्त्री, को हुन् सृष्टि ?

2.7K

भारतको उत्तराखण्डमा एक दिने मुख्यमन्त्री बनेकी १९ वर्षिय सृष्टि गोस्वामीले अचानक चर्चा बटुलिन्। 

सृष्टिलाई जनवरी २४ मा मुख्यमन्त्री घोषणा गरिएको थियो। राष्ट्रिय बालिका दिवसको अवसरमा उनलाई प्रथम महिला मुख्यमन्त्रीका रुपमा स्वागत गरिएको थियो।

को हुन् सृष्टि?

सृष्टि गोस्वामी उत्तराखण्डस्थित हरिद्वार जिल्लाको बहादाराबाद विकासखण्डस्थित दौलतपुर गाउँकी बासिन्दा हुन्। सृष्टि रुडकीको बीएसएम पीजी क्याम्पसमा कृषि विषय अध्ययनरत विद्यार्थी पनि हुन्। परिवारमा बुवा, आमा र एक भाईका साथ बस्दै आएकी सृष्टि सामान्य परिवारकी रहेको भारतिय संचारमाध्यमले जनाएका छन्। उनका बुवा प्रवीण पुरी दौलतपुर गाउँमा एक किराना पसल सञ्चालन गर्दछन् भने आमा सुधा गोस्वामी ग्रामिण बाल हेरचाह केन्द्र, आंगनबडीकी कार्यकर्ता हुन्। सृष्टिका भाई कक्षा ११ मा अध्ययन गर्छन्। हाल सृष्टिका परिवार उनीप्रति गौरवान्वित भएको बताउँछन्।

सन् २०१८ मा बाल उत्तराखण्ड विधानसभामा बाल विधायकका रुपमा पनि सृष्टिलाई चयन गरिएको थियो। सन् २०१९ मा उनले गर्ल्स इन्टरनेसनल लिडरशिपका लागि थाइल्याण्डमा भारतको प्रतिनिधित्व पनि गरिसकेकी छिन्।

पछिल्लो दुई वर्षमा 'आरम्भ' नामक योजना पनि उनले सञ्चालन गरिरहेकी छिन्। जसमा उक्त क्षेत्रका गरिब बालबालिकाहरुको अध्ययनका लागि प्रेरणा दिनुका साथै निःशुल्क पुस्तकहरु वितरण गर्ने गरिन्छ।

सृष्टि भविष्यमा राजनीति प्रवेश गर्न चाहन्छिन्। यद्यपी, उनको परिवार भने राजनीतिबाट टाढा रहेका छन्।

उत्तराखण्ड सरकारले सृष्टिलाई 'महिला सशक्तिकरणबारे जागरुकता फैलाउन' एक दिनका लागि मुख्यमन्त्री बनाएको हो। प्रतिकात्मक रुपमा मुख्यमन्त्री बनेकी सृष्टिले सो दिन अलगअलग विभागहरुका कार्यबारे जानकारी लिनुका साथ आफ्ना सुझाव पनि दिएकी थिइन्।

Must View