नागरिक पोष्ट News


वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने

1.4K

काठमाडौं, १५ माघ । वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ । आज पत्रकार सम्मेलन गरी वर्ल्डलिंकले ३ अर्ब रूपैयाँको लगानीमा तीन वर्षभित्र डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिङ्क कम्युनिकेशन्सका सीईओ केशव नेपालले आगामी १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्धारण डेटा सेन्टरले गर्ने बताए । १४ डेटा सेन्टरमध्ये काठमाडौंको डेटा सेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यताप्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ भने अन्य बाँकी डेटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुने जानकारी दिइएको छ।

यी डेटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हुनेछन् । यो सुविधाले वर्ल्डलिंकको पूर्वाधारमात्र व्यस्थापन नगरी अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम सेवा प्रदायक लगायत सरकारी, निजी संस्था र सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दूरसञ्चार पूर्वाधारको व्यवस्थापन गर्नेछ । यी इन्टरनेट डेटा सेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउने कम्पनीको दाबी छ ।

Must View