नागरिक पोष्ट News


नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

2.1K

- वासुदेव पौडेल

आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । 

तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ ।

उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा लगेर पूजाआजा गराएमा बोली आउने जनविश्वासका कारण पछिल्ला केही वर्षयता तनहुँ, कास्कीलगायतका विभिन्न जिल्लाबाट यहाँ दर्शनार्थी पुग्ने गरेका छन् ।

नबोल्ने बालबालिकाका लागि बोली दिने प्राचीन जनविश्वासका आधारमा बालबच्चा लिएर भाकल एवं सामान्य पूजाका लागि दर्शनार्थी आउने गरेको स्थानीयवासी विष्णु खनालले बताउनुभयो ।

मन्दिरको स्थापना कहिले भयो भन्ने यकीन तथ्य अझै फेला नपरेको बताउँदै उहाँले आफूहरूले बाल्यकालमा उक्त स्थानमा सामान्य मौलो एवं शिला मात्रै देखेको अनुभव सुनाउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा महिला जागरण आमा समूहले लाटी बाराहीको मन्दिर निर्माण गर्दै यस स्थानलाई व्यवस्थित बनाउने प्रयास गरेको छ ।

खरखरे पहरोका बेंसीमा रहेको मन्दिर परिसरमा मौलो गाडिएको स्थानमा बेलाबेलामा लहरी छुट्नु यहाँको विशिष्टता हो । आमा समूहको सक्रियतामा १५ वर्ष अघि मन्दिर निर्माण गरिएको आमा समूहकी सदस्य शारदा खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्षको बडादशैँ र वैशाख पूर्णिमामा मन्दिरमा विशेष पूजाआजा गर्ने गरिएको छ । नबोल्ने बालबालिकालाई बोल्ने शक्ति प्रदान गर्ने विश्वासका कारण प्राचीन कालदेखि नै लाटी बाराहीको गरिमा र महत्व बढेको स्थानीय समाजसेवी विश्वनाथ खनाल बताउनुहुन्छ ।

लाटी बाराही मन्दिरको महत्वका साथै प्राचीनकालमा वैद्यले यहीँको पानीलाई औषधिका रुपमा लिने गरेको र विभिन्न स्वास्थ्य समस्या पनि यहाँको पानी पिएपछि सञ्चो हुने जनविश्वासका कारण ठाउँको नाम वैद्यपानी भएको स्थानीयवासी बताउँछन् ।

माछापालनसहित तरकारी तथा फलफूलखेतीका धेरै सम्भावना रहेर पनि पुलको अभावमा यहाँका कृषिजन्य उत्पादनले सहजरुपमा बजार पाउन नसकेको उनीहरूको गुनासो छ ।

Must View