प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद लगातार बढ्दै गइरहेको छ । यो बीचमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको जानकारी दिएको छ । उक्त समुहका कारण ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएका कारण हटाइएको हो । माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो ।
तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो ।