मलेशियाबाट १८ नेपालीको शव लस्करै नेपाल ल्याइयो, त्रिभुवन विमान स्थलमा सन्नाटा
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।
शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।
मलेसियाबाट १८ जनाको शव र एक जनाको अस्तु काठमडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एकैपटक आउँदा विमानस्थल क्षेत्र विहान भावबिह्वल र चकमन्न बनेको थियो । शव लिन आएका अधिकांश साथीभाइ र आफन्तजनका आँखामा आँशु थामिएको थिएन ।