नागरिक पोष्ट News


बाबुराम र प्रचण्डको उपराष्ट्रपति भवन लैनचौरमा गोप्य भेटघाट

2K

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भेटवार्ता गरेका छन् । शुक्रबार अपराह्न उनीहरु तीनैजनाबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरे लगत्तै दाहाल उपराष्ट्रपति भवन लैनचौर पुगेका थिए भने भट्टराई त्यही समय पारेर लैनचौर पुगेको स्रोतले जनाएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका दाहाल र भट्टराई एकैपटक उपराष्ट्रपतिसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्तारुढ दल नेकपा दुई गुटमा स्पष्ट रुपमा विभाजन भइसकेको बेला पूर्व माओवादीका शीर्ष नेताहरुबीचको भेटमा के कुराकानी भयो यसबारे केही खुलाइएको छैन । तर पनि उनीहरुबीच प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन गर्नेबारे कुराकानी भएको हुनसक्ने आकलन गरिएको छ ।

Must View