नागरिक पोष्ट News


नेपाल पत्रकार महासंघको चुनाव फागुन ४ र ५ गते हुँदै

1.6K

काठमाडौं । नेपाल पत्रकार महासंघको १२ औं पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा माघ ३ र ४ गते सिन्धुपाल्चोकको हेलम्बुमा बसेको बैठक १३ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा हालै सर्वोच्च अदालतवाट जारी भएको प्रेस विज्ञप्तिप्रति बैठकको गम्भीर ध्यानाकर्षण जनाउँदै समाचारमा चित्त नबुझे सम्बन्धित सञ्चार माध्यममा खण्डन वा पत्रकार आचार संहिता अनुरुप प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएको छ । तर त्यसविपरित सम्वन्धित मिडिया र पत्रकारलाई कारवाही गर्ने धम्कीसहित विज्ञप्ति जारी हुनुले प्रेस स्वतन्त्रताको मूल मर्ममाथि प्रहार हुन पुगेको महासंघको ठहर छ ।

बैठकले महासंघको विधानको व्यवस्था र प्रक्रियालाई ध्यान दिँदै आगामी फागुन ४ र ५ गते काठमाडौंमा २६ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महाधिवेशनको तयारीसम्बन्धी कार्यका लागि केन्द्रीय कार्यालयलाई जिम्मा दिने निर्णय समेत भएको छ ।

केन्द्रीय महाधिवेशन अघि नै प्रदेश र शाखाहरूको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने विधानको व्यवस्था एवम् यसअघिको बैठकबाट भएको निर्णय बमोजिम माघ २० गतेसम्म शाखाको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय गरिएको छ । समयमै प्रदेश र जिल्लाको साधारणसभा सम्पन्न गर्न गराउन पनि मातहतका कमिटीलाई निर्देशन गरिएको छ ।

Must View