नागरिक पोष्ट News


कोभिड महामारीका कारण लामो समयपछि खुलेको रसुवागढी नाका अझै सहज हुन सकेको छैन

1.9K

काठमाडौं, २३ पुस । कोभिड महामारीका कारण लामो समयपछि खुलेको रसुवागढी नाका अझै सहज हुन सकेको छैन । कोभिड संक्रमणको जोखिमलाई कारण देखाउँदै चिनियाँ पक्षले नेपाली व्यवसायी एवं कन्टेनरलाई चीन प्रवेशमा लगाएको निषेध नहट्दा आयात–निर्यात प्रभावित भएको छ ।

उक्त नाकाबाट दैनिक मुश्किलले चार–पाँच वटा कन्टेनर सामान मात्र नेपाल भित्रने गरेको छ । जब कि चीनतर्फका विभिन्न स्थानमा नेपाली व्यवसायीका सयौं कन्टेनर अड्किएर बसेका छन् । महिनौंदेखि चीनतर्फ रोकिएका सामान सहज रूपमा आयात हुन नसक्दा नेपाली व्यवसायी मर्कामा परेका छन् ।

यस्तै उक्त नाकाको अवरोधले लामो समयदेखि नेपाली वस्तु चीनतर्फ निर्यात हुन समेत सकेको छैन । पछिल्लो पाँच महिनामा यो नाका हुँदै नेपालमा ५ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको सामग्री भित्रिएको छ । तर सो अवधिमा उक्त नाकाबाट नेपाली वस्तुको निर्यात शून्य छ ।

अघिल्लो आर्थिक वर्षको माघसम्ममा रसुवागढी नाका हुँदै नेपालबाट ५८ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । त्यसयता सो नाकाबाट निर्यात नै हुन सकेको छैन । भाषागत समस्या देखाउँदै गतवर्षको असोजमा चीन सरकारले नेपालबाट चीनमा निर्यात हुने वस्तुमा चिनियाँ भाषामै लेबलिङ र स्टीकर राख्न सुझाव दिएपछि निर्यात असहज भएको हो ।

चीनसँगको नाकामा भएको अवरोध उस्तै रहेपछि अहिले नेपाली आयातकर्ता र व्यापारीले भारतीय बाटो हुँदै आयात गर्न थालेका छन् । तर यसले आयात सहज देखिए पनि व्यवसायीले महँगो ढुवानी भाडा तिर्नुपरेको छ ।

Must View