काठमाडौं शहर वायु प्रदूषणको १ नम्बरमा पर्यो, अनावश्यक बाहिर ननिस्किन सर्वसाधारणहरुमा अपील !
काठमाडौं । काठमाडौं उपत्यका विश्वका सर्वाधिक वायु प्रदूषण भएका ५० शहरहरुमा पहिलो स्थानमा परेको छ । उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनेको छ । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन भनेको छ ।
विज्ञप्तिमा नेपालगञ्ज, विराटनगर लगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ । विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ ।
सोमबार काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुग्यो । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले सोमबार ७.४५ बजे काठमाडौंको एक्युआई ४८७ पुगेको देखाएको छ ।
काठमाडौं नम्बर १ मा पुगेको मात्रै होइन, दोस्रो र तेस्रो स्थानको भन्दा झण्डै दोब्बर पुगेको थियो । त्यतिबेला दोस्रो स्थानमा रहेको कीर्गिस्तानको भिश्केकको २९६ र तेस्रो स्थानको भियतनामको हनौईमा २४१ एक्युआई थियो ।
वायु प्रदूषण कोभिड-१९ संक्रमितका लागि हानीकारक रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । प्रदूषित क्षेत्रका संक्रमितलाई तुलनात्मक रुपमा बढी हानी पुगेको जानकारहरू बताउँछन् ।