'देश किन बनेन' पछि 'रोडम्याप’ का लेखक प्रकाश विकल्प को हुन् ?
मेरो जन्म मध्यम बर्गीय ‘कट्टर हिन्दु’ परिवारमा भएको हो । मेरो गृह जिल्ला मोरङ, टंकीसिनुवारी हो । झण्डै दुई दशकदेखि म काठमाडौंमा बसेर अध्ययन एवं सामाजिक, राजनीतिक र व्यावसायिक काममा सँगसँगै क्रियाशील रहँदै आएको छु । म सानो छँदादेखि नै अलिक फरक अर्थात् विद्रोही स्वभावको केटो थिएँ । हरेक कुरामा किन, कसरीजस्ता प्रश्नको जवाफ खोज्न प्रयास गर्नु मेरो स्वभाव थियो । त्यही क्रममा एक दिन ममा आफ्नो नामका विषयमा प्रश्न उब्जियो । जुन नाम न्वारनका दिन पण्डितले राखिदिएका थिए, त्यो नाम थियो– महादेव ।
म किशोरावस्थासम्म आइपुग्दा झण्डैझण्डै साधुसन्त हुने निर्णयमा पुगिसकेको थिएँ । तर ममा फेरि प्रश्न उब्जियो– किन साधु बन्ने, केका लागि ? साधु भएर के हुन्छ ? इत्यादि प्रश्न र तिनको सही जवाफ पाउन नसक्दा म त्यो सोचबाट पछि हटे ।
परिपक्व हुँदै जाँदा म थुप्रै दार्शनिक, वैज्ञानिक र सफल व्यक्तिका जीवनी पढ्नमा खूब रुचि राख्न थालेँ । त्यसमा पनि मूलतः बौद्ध दर्शन र माक्र्सवादी अध्ययन एवम् त्यस समयमा चलिरहेको जनयुद्धको प्रभावले मेरो विद्रोही स्वभावलाई थाहै नपाई झनै धारिलो बनाएको मैले अनुभूति गरेको छु । यावत् चिन्तन र अध्ययनको प्रभावले होला, समाजका हरेक दृश्यलाई प्रश्नको कोणबाट हेर्दै त्यसको जवाफ खोज्न अग्रसर थिएँ र छु । आज आएर त यो सब मेरो जीवनपद्धति नै बनिसकेको आभास हुन्छ ।
किशोरावस्थादेखि नै म एकखालको सक्रिय मान्छे थिएँ । त्यही भएर होला, करिब–करिब १४ वर्षको उमेरदेखि नै विभिन्न क्लबको नेतृत्व गर्ने अवसर पाएँ । परिपक्व युवा भइनसक्दै मैले थुप्रै सामाजिक संघ–संस्थाको नेतृत्वमा रहेर जिम्मेवारी बहन गरेँ । यद्यपि, जीवनमा धेरै नै प्रतिकुलता र उतारचढावको सामना गर्नुपरेको अनुभव मेरो मानसपटलमा अहिले पनि ताजै छ । परन्तु, ममा ‘इमानदारीता’ र ‘आँट’ भने कहिल्यै कमी हुन दिइनँ । आजसम्म आइपुग्दा सरकारका विभिन्न जिम्मेवारीमा रहेर नीति निर्माण तहमा योगदान गरिसकेको छु भने युवासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाको नेतृत्वको अनुभवसमेत सँगालिसकेको छु ।
परिवर्तनकामी राजनीतिका पक्षमा आफ्नो ठाउँबाट योगदान गर्दै आएको म पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी नेकपासँग आवद्ध छु । सामाजिक, आर्थिक, राजनीतिक र इतिहासको अध्ययन मेरो मुख्य रुचिको विषय हो । यसैको वरिपरि रहेर विभिन्न राष्ट्रिय दैनिकमा आफ्ना लेख–रचना प्रकाशित गर्दै आएको छु । २०६७ सालदेखि पुस्तक लेखनसमेत गरिरहेको छु । युवा, सुशासन, नीति–योजना, धर्म र विकासलगायत थुप्रै विषयको अध्ययन–अनुसन्धानमा संलग्न मेरा केही पुस्तक प्रकाशन भएका छन् । मेरै नेतृत्वमा केही अध्ययन प्रतिवेदनहरू समेत प्रकाशित छन् ।
प्रकृति, विज्ञान र मानवतावादी सोचबाट प्रभावित म नेपालमा मात्र नएर विश्वमा नै मानवता हासिल गर्न थोरै भए पनि योगदान गर्न प्रयासरत छु । मैले अन्तरआत्मादेखि नै जात र धर्म त्यागेको झण्डै ७ वर्ष भयो । म कुनै पनि धार्मिक कार्यमा संलग्न हुन चाहन्नँ । हो, मेरो आफ्नो संविधानले यही भन्छ । किनकि, यस्ता गतिविधिको वैज्ञानिक आधार र औचित्यसमेत मैले देखिनँ । यसको मतलब, म औचित्यपूर्ण काम मात्र गर्न रुचाउने मान्छे हुँ । मलाई प्रकृति, विज्ञान र मानवतावाद (प्राविमावाद) को कसीमा सहीसावित हुनेबाहेक अन्य काम गर्न मेरो निजी संविधानले इजाजत दिँदैन । म सामाजिक न्याय र मानवतासहित विज्ञानमा आधारित विश्व समृद्धिको पक्षधर हुँ ।
अध्ययन र लेखनका क्रममा मलाई एउटा अनुभूति भयो । त्यो के भने, आज अति राम्रो लागेको च्याप्टर भोलि पढ्दा अलिक कमसल लाग्छ । फेरि त्यसमा काम गर्छु । एवंरीतले, पुस्तक नछापिँदासम्म पहिला आफैले पटक–पटक करेक्सन गर्ने गरेको छु । जब राम्रो लाग्छ, तबमात्र प्रकाशकलाई पठाउँछु ।
मेरो यो अनुभव किन तपाईंहरूसँग बाँड्दै छु भने राम्रो र सफल जीवनका लागि विगतको बुझाइ र चेतनामा निरन्तर करेक्सनको आवश्यकता पर्नेरहेछ । आफ्नो बुझाइको निरन्तर करेक्सनले जीवनलाई पूर्ण सम्पादन भएको पुस्तकजस्तै सुन्दर बनाउँछ । जसले विगतका बुझाइ र कर्मलाई आज सम्पादन गर्छ अर्थात् गतिशीलतामा बाँच्छ, उसले जहिले पनि ताजा र सफल जीवन जिउँछ । र, यस्ता मानिसले मात्र समाजका लागि योगदान गर्न सक्छन् । जो हिजोको बुझाइलाई नै अन्तिम सत्य मानेर रुढिवादमा बाँच्छ, उसले समाजलाई त के आफ्नै जीवन पनि धेरै सफल बनाउन सक्छजस्तो मलाई लाग्दैन । मेरो यो अनुभूति नै आज मैले बाँचेको जीवन हो ।
मानिसले ढुङ्गे युगलाई नै ठिक मानेका भए आजको अवस्थामा हामी कहाँ आइपुग्थ्यौँ र ! आज पनि स्याउलाले अङ्ग छोपेर ओढारमा कन्दमुल खाँदै जीवन गुजारिरहेको हुन्थ्यो होला, मानवजाति ! अपितु, थोरै मानिसले मात्र किन नहोस्, ढुङ्गे युगभन्दा अझ उन्नत भविष्यको सम्भावना देख्दा नै हामी आधुनिकताको उत्कर्षउन्मुख छौं ।
म जन्मदिन मनाउँदिनँ । किनकि म जन्मिएर के चाहिँ त्यस्तो महान् काम गरेको छु र, केक काटेर खुसियाली मनाऔं ! न त कुनै वैज्ञानिक आविष्कार गरेर दुनीयाँलाई योगदान गरेको छु । न त असामान्य काम गरेर समाजलाई नै गुण लगाएको छु ! फेरि यसो भन्दै गर्दा म बहुतै जड्सुत्रीय लाग्न सक्छु । तर त्यसो पनि होइन है ! म हरेक दिन नयाँ काम गर्न पाउँदा औधी खुशी हुने मान्छे हुँ । समाजको सिको गर्दै दुईदिने जीवनलाई खानु, सुत्नु र मनोरञ्जनमा बर्बाद गर्न चाहन्नँ । अर्को कुरा, मेरो जीवनमा हिजो र भोलि नआएको झण्डै ७ वर्ष भयो । म विगत ७ वर्षदेखि रातको १२/१ बजेसम्म सधैँ काम गर्छु । यसर्थ, म सुत्ने वेलामा हिजो र भोलि दुवै ‘आज’ भइसकेको हुन्छ । हो, म आजमा विश्वास गर्छु र आजसँगै बाँच्छु ।
खैर, मेरो इच्छा छ– परिवारले म मरेपछि मेरा काम लाग्ने अङ्गहरू कसैलाई देओस् । मेरा जलेर नष्ट हुने अङ्गले एकजना मात्र भए पनि समाजको अग्रगतिमा योगदान गर्नेलाई बचाउन सकोस् । म मरेपछि कुनै पनि धार्मिक ग्रन्थ र परम्पराबमोजिम मेरो दाह–संस्कार र कथित काजकिरिया नहोस् । हो, मेरो नीतिले यही भन्छ । यही नीतिबमोजिम बाँच्न र अन्त्य हुन चाहन्छु । हिजो समाजबाट प्राप्त शिक्षाको मात्र होइन, आफ्नै चिन्तनबाट हासिल ज्ञानको समेत आज सान्दर्भिकता खोज्छु । यदि, त्यो सापेक्षित छ, अपनाउछु । होइन भने त्यसलाई खारेज गरेर नयाँ कुराको खोज गर्छु ।
म जतिजति समाज रूपान्तरण र वैज्ञानिक अन्वेषणका बारेमा पढ्छु, त्यति नै मलाई चिन्ता र हुट्हुटीले सताउँछ । यस मानेमा कि म समाजको अग्रगतिमा केही योगदान नगरी मरे भने… ! मेरा कतिपय नजिकका साथी र आफन्तको अकल्पनीय निधनले म स्वयम् पनि मृत्युलाई ढुक्कले स्वीकारेर बाँचेको मान्छे हुँ । मृत्यु स्वीकारेपछि त्यसको भयबाट त मुक्त हुने कुरा भइहाल्यो । तर बाँचुन्जेल नै त हो, अर्थपूर्ण जीवनका लागि प्रयास गर्ने । यो कुराले चाहिँ मेरो मन–मस्तिष्कमा तुफान सृजना हुन्छ । त्यसकारण, कुनै पनि काम छिटोछिटो गर्ने मेरो आदत बसिसक्यो । अझ सामाजिक काम त झनै तीब्र गतिमा गर्न मन लाग्छ ।
मेरो यो चेतनाको स्रोत महामानव गौतम बुद्ध, काल माक्र्स, नेल्शन मण्डेला, राहुल सांस्कृत्यायनलगायत मैले पढेका, सुनेका, देखेका र संगत गरेका सामाजिक अग्रगतिका पर्याय सबै महान् अग्रजहरू हुन् । उहाँहरूप्रति नतमस्तक हुँदै सम्मान प्रकट गर्न चाहन्छु ।