नवीकरण फेल भएका प्राइभेट फर्महरु पुनः सञ्चालन हुन पाउने
काठमाण्डौं । विभिन्न कारणले नवीकरण फेल भएर बन्द भएका निजी फर्म पुनः नवीकरण गर्न पाउने भएका छन् । सरकारले नविकरणको म्याद गुजारेर बन्द भएका फर्महरु सन्चालनका लागि पुनः नविकरण गर्न पाउने गरी निर्णय गरेको हो । नेपाल सरकारका तोकिएका निकायमा दर्ता नगरी व्यवसायिक प्रकृतिका प्राइभेट फर्महरु संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । साथै दर्ता भएपश्चात तोकिएको समयावधि भित्र समय समयमा नवीकरण समेत गराउनु पर्ने हुन्छ । अन्यथा तेस्ता फर्महरु कारोबार निरन्तरताका लागि वैधानिक मानिदैनन् ।
प्राइभेट फर्म रजिष्ट्रेशन ऎन, २०१४ अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा मात्र करिब ५ लाख जति फर्महरु दर्ता भएको र झण्डै आधा जति फर्महरुले आफ्नो फर्म नवीकरण नगरेको उक्त विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाईले जानकारी दिएका छन् ।
प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा तेह्रौं संशोधन गर्ने निर्णय सँगै २०७८ असार मसान्तसम्म नवीकरण गर्न छुटेका सबै निजी फर्महरुलाई आवस्यक कागजात सहित नवीकरण गर्न निवेदन दिन सक्ने अवसर दिईएको छ ।
सरकारको निर्णय अनुसार साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा २० लाख अधिकृत पुँजीभन्दा कम भएका फर्महरुका लागि बार्षिक २ हजारका दरले र २० लाख भन्दा बढी पूँजी भएका फर्महरुका लागि बार्षिक ५ हजारका दरले थप नवीकरण शुल्क तोकिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता एवं निर्देशक शिवराज सेढाईंले जानकारी दिए ।