कसैको उक्साहटमा लागेर हामी बोल्दैनौं - शेरबहादुर देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कसैको उक्साहटमा सर्वोच्च अदालतमा विचाराधीन विषयमा बोल्न नहुने बताएका छन्।
संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड नेपाल समुहले गरेको आन्दोलनका बारेमा उनले यस्तो धारणा राखेका हुन् । आज काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारी आयोजना गरेको भर्चुअल डिस्कसनमा देउवाले उक्त भनाई राखेका हुन्।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्ष सडक संघर्षमा उत्रेको छ। प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने माग प्रचण्ड माधव पक्षले राखेको हो । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतलाई दबाव दिने खालका आन्दोलन गरिरहेका छन्। यस आन्दोलनमा प्रचण्ड माधव पक्षले प्रमुख प्रतिपक्षी दल काँग्रेसको साथ खोजिरहेको छ।
यस्तो बेला देउवाले कसैको उक्साहटमा स्वतन्त्र न्यायापालिकामाथि विचाराधीन मुद्दामा नबोल्ने बताएका हुन्। ओलीको कदम असंवैधानिक भएको उल्लेख गर्दै यस कदमको विरोधमा भने आन्दोलन जारी रहने देउवाको भनाई थियो।