नागरिक पोष्ट News


साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द

2.1K

काठमाडौं,। साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । गत कारोबार दिनहरुमा लगातार उच्च अंकले बढेको नेप्से परिसूचक आज २९.८३ अंक घटेर २०३८.६३ विन्दुमा रोकिएको छ । आज नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज झण्डै एक अर्ब ५० करोड रुपैयाँ घटेर ५ अर्ब ३६ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

२०४ कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नविल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको ६१ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो बैंकले २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश दिने घोषणा गरेकोले शेयर बढी विक्री भएको हो । यो बैंकले ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सले पनि ५१ प्रतिशत लाभांश दिने घोषणा गरेकोले यो कम्पनीको पनि सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ५९ करोड ८१ लाख रुपैयाँको शेयर खदिर विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूह र होटल समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहका परिसूचक घटेको छ । आज उद्योग समूहको ०.८७ प्रतिशत र होटल समूहको ४.९१ प्रतिशतले परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा जीवन बीमा समूह रहेको छ । यो समूहको ३.०६ प्रतिशत परिसूचक घटेको छ ।

Must View