अन्तत सहमति गर्दै ओली र प्रचण्ड : सबै विवाद समाधान गर्ने निचोडमा
काठमाडौं । लामो समय देखि विवाद चर्किएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद समाधानको संकेत देखिएको छ । नेकपाका दुई अध्यक्षबीच बढेको दुरी नजिकिएको छ । बुधवार भएको छलफल पछि दुई अध्यक्ष एउटा सहमतिमा पुगेका छन् ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यस्तो सहमति भए पछि अब नेकपा भित्रको विवाद समाधान हुन संकेत देखिएको हो ।
अध्यक्षद्वयको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराइएको छ । भदौ २६ को निर्णयमा फर्किने सहमतिसँगै अध्यक्षद्वयले यसअघि आदानप्रदान भएका आरोपपत्रसमेत फिर्ता लिने भएका छन् ।
यो सहमतिसँगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको छ । दुई नेताबीचको सहमति लगत्तै बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरी सुरु भएको छ । बैठकमा दुई अध्यक्षबीच भएको सहमतिवारे जानकारी गराइएको छ ।
भदौ २६ मा प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो। तर ओलीले एकलौटी निर्णय गरेर सहमति उल्लंघन गरेको भन्दै विवाद चर्किएको थियो ।