उखु किसानहरुको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि आन्दोलनमा
काठमाडौं । अहिले सर्लाहीका उखु किसानहरु विद्रोह गरिरहेका छन् । सरकारले उनीहरुलाई धेरै झुक्यायो । अब उनीहरु झुक्किने मनस्थितिमा छैनन् । सरकारसँग भएको सम्झौता एक वर्षसम्म पनि कार्यान्वयन नभएपछि उनीहरु अन्तिम लडाइँ भन्दै काठमाडौंमा आएर आन्दोलन चर्काइरहेका छन् । सरकार र उद्योगीबाट पटकपटक धोका पाइसकेकाले यसपटक भने वक्यौता रकम चुक्ता नभएसम्म आन्दोलन नरोक्ने किसानहरुको चेतावनी रहेको छ ।
यसअघि पनि उखुको वक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरुले काठमाडौं आएर आन्दोलन गरेका थिए । त्यसपछि उद्योग मन्त्रालयले गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता गरेको थियो ।
तर त्यो सम्झौताले किसानलाई छोएन । सम्झौता पत्रमा तत्काल भुक्तानीको वातावरण बनाउने, मिल मालिकको सम्पति बिक्री गरेर भएपनि सम्पूर्ण बक्यौता एक महिनाभित्र चुक्ता गर्ने आश्वासन दिइएको थियो ।
एक वर्षसम्म पनि करिब ९० करोड रुपैयाँ बक्यौता नदिइएपछि उनीहरु यसपालि कुनै पनि सहमति गर्ने मुडमा छैनन् ।
उनीहरुले उद्योग मन्त्रालयले वार्ताका लागि गरेको वाह्वान पनि लत्याएका छन् । उनीहरुले वार्ताा गर्न मन्त्रालय नआउने भन्दै बक्यौती लिएर प्रदर्शनस्थल माइतीघर मण्डलामा आउन सरकारलाई आग्रह गरेका छन् ।
किसानले उधारोमा वार्ता नगर्ने जवाफ दिँदै बक्यौता बोकेर मन्त्री नै माइतीघर मण्डल आउनुपर्ने बताएका हुन् ।
उनीहरु ‘सानो छ खेत सानो छ बारी सानै छ जहान, सानो छ देश,ठूलो छ सरकार अटेन किसान, किसान मार्न पाइदैन, श्रम र पसिनाको मुल्य पाउँ, सरकार किसानलाई बाँच्न देउ, माफियाको गुलियोमा सरकार भुलियो लगायतका मार्मिक नारा लेखेका पम्प्लेटसहित प्रर्दशनमा उत्रिएका छन् ।
उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उखु किसानका समस्या समस्या समाधान गर्न छलफल जारी रहेको भन्दै एक हप्ताभित्र समस्या समाधान हुने दावी गर्छन् ।
किसानहरु अहिले पनि आफूलाई फकाउने काम नहोस् भन्दै बक्यौती लिएर जानुको विकल्प नभएको बताउँछन् ।