नागरिक पोष्ट News


तारकेश्वर नगरपालिका वडा नं. १० को लोकतान्त्रिक चोक नजिकै निर्माणाधिन माइक्रो पार्कको आज उदघाटन

1.3K

२५ मंसिर, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० को लोकतान्त्रिक चोक नजिकै निर्माणाधिन माइक्रो पार्कको आज उदघाटन भएको छ । शौचालय र यात्रु पाटीसहित निर्माण भएको माइक्रो स्टेशनको आज तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहराले रिबन काटेर उदघाटन गरेका छन् ।

उक्त कार्यक्रममा तारकेश्वर वडा नं. १० का अध्यक्ष अमृत थापासहितका जनप्रतिनिधिहरु, सामाखुशी माइक्रो व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापति, समितिका पदाधिकारीहरु, तानपा १० का समाजसेवी, बुद्धिजिवी, महिला समूहहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले पार्क निर्माणको लागि पहल कदमी गरेर काम गर्ने संघ/संस्थाहरुलाई धन्यवाद दिएका थिए । तारकेश्वर नगरपालिकाभित्र अब छिट्टै बस तथा माइक्रो नयाँ रुटहरुको निर्माण गरेर व्यवस्थित गर्नका लागि नेपाल प्रहरि, ट्राफिक प्रहरि र नगर प्रहरिको समन्वयमा नगरपालिकाले काम गर्ने योजना रहेको बताउनुभयो । सडकहरुमा गाडी पार्कीङ बडेकाले प्रहरि, ट्राफिक प्रहरि र नगर उपप्रमुखको टिमले फिल्ड भिजिट गरेर एउटा प्रतिवेदन तयार गरेको छ ।

तारकेश्वरभित्रका गाडीहरुको पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले छिट्टै ट्राफिक व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरिसँगको सहकार्यमा काम गर्ने बताएका छन् ।

कार्यक्रमको एक प्रसङ्गमा नगर प्रमुख बोहराले तारकेश्वर नगरपालिकाको आफ्नै मुखपत्र निस्कन लागेको खुलासा गर्नुभयो । नगरपालिकाले गरेका कामहरुलाई चौमासिक रुपमा निकालेर जनतामा वितरण गरिनेछ ।

कार्यक्रममा विशिष्ट अतिथि सामाखुशी माइक्रो व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले यातायात व्यवसायीलाई पर्न आउने स–साना समस्यामा नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । त्यस्तै व्यवसायी समितिले यस क्षेत्रमा गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताएका छन् ।

पार्क निर्माणको लागि उपत्यका प्राधिकरण नगर योजनाको ४८ लाख बजेटमा शौचालय, पाटी, ढलान, बाटो ढलान सम्पन्न गरेको समितिका कोषाध्यक्ष तिर्थकुमारी दवाडीले बताउनुभयो । तारकेश्वर वडा नं. १० को पहलकदमीमा बनेको पार्क आजदेखि औपचारिक रूपमा प्रयोगमा आएको छ । मनमैजु पार्क व्यवस्थापन समितिका अध्यक्ष माधव रिजालको नेतृत्वमा पार्क निर्माण भएको छ । Photo credit farakpatra

Must View