विदेशबाट पेन्सन पाइरहेकाले पनि अब बृद्ध भत्ता पाउने
काठमाडौं । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाईरहेकाहरूले भने सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । त्यस्तै कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भई बहाल रहेका व्यक्तिका लािग पनि यस्तो भत्ताको व्यवस्था गरिएको छैन ।
बेलायती तथा भारतीय सेना, सिंगापुर प्रहरीमा काम गरेर आवकाश पाएका भूतपूर्व सैनिकहरू अध्यादेशबाट ल्याइएको यो निर्णयबाट लाभान्वित हुने देखिन्छ । विदेशी सरकारबाट पारिश्रमिक, निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा प्राप्त गरिरहेकाहरूले सरकारले आफ्नो पक्षमा निर्णय गरेको बताएका छन् ।
अध्यादेशको दफा १५ संशोधन हुँदा करिब ५० हजारले लाभ पाउने सरकारको अनुमान छ ।