नागरिक पोष्ट News


नेपाली सेनाका अधिकृत पिटर थापाले बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड जिते

2.6K

लण्डन। नेपाली सेनाका एक अधिकृत पिटर थापा बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा सर्वोत्कृष्ट घोषित भएका छन्।  केहीबेरअघि बेलायती सेनाले सार्वजानिक गरेको विवरणअनुसार, नेपाली सेनाका सेकेण्ड लेफ्टिनेण्ट थापाले यसबर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरवार (स्वर्ड) पुरस्कार जितेका हुन्।

यसरी बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार पाउने थोरै नेपालीमा थापा पर्न सफल भएका छन्। धेरैबर्षदेखि नेपाली सेनाका अधिकृतहरुले सर्वोत्कृष्ट स्थान हासिल गर्न प्रयास गर्दै आएको भए पनि उत्कृष्ट पुरस्कार हात पर्न सकेका थिएनन्। थापा नै नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत हुन पुगेका छन्।

हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लप्टनको फुली लगाइदिएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ। एकबर्ष अवघिको यो कोर्समा नेपाली सेनाले स्वर्ड जितेको यो पहिलो अवसर हो। स्वर्ड त्यस्ता अधिकृतहरुले मात्र जित्छन् जसले सो महाविद्यालयमा त्यो बर्षको कोर्समा सर्बप्रथम बन्न सफल हुन्छन्।

नेपाली सेनाका तर्फबाट सन् १९९० को दशकमा पूर्वरथी कुलबहादु खड्काका छोरा प्रवीण खड्काले, सुधीर महरा र पूर्वसेनापति सत्चितसमशेर जबराका छोरा सदयसमशेर जबराले केन (सैनिक केन लठ्ठी) जित्न सफल भएका थिए। 

सैनिक स्रोतका अनुसार, इतिहासमै पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ्ग जिल्लाका हुन्। उनी दुईबर्षअघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।

Must View