नेप्सेमा सूचीकृत ८ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी कसको
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएको जीवन बीमा कम्पनीहरुको संख्या आठ छ । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा उल्लेखनीय आर्थिक वृद्धि गर्न सफल भएको देखाएको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको प्रमुख सूचकहरुमा सुधार आएको देखिएको छ । कोरोना महामारीले जीवन बीमा कम्पनीहरुमा खासै प्रभाव परेको वित्तीय विवरणमा झल्किदैन ।
८ जीवन बीमा कम्पनीमा कस्को अवस्था कस्तो ?
चुक्ता पुँजीको आधारमा
नेप्सेमा सूचीकृत ८ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अन्य कम्पनीको तुलनामा चुक्ता पुँजीको आधारमा नेपाल लाइफ धेरै अगाडी रहेको छ ।
त्यस्तै, नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा कम चुक्ता पुँजी भएको कम्पनी गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।
सबै कम्पनीको जीवन बीमा कोषको आकार बढ्यो
प्रथम त्रैमासको अवधिसम्ममा आठवटै कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ । गत भदौ महिनामा आइपीओ जारी गरेकोे रिलायन्स लाइफले यस अवधिसम्ममा सबैभन्दा धेरै कोषको आकार बढाउन सफल भएको छ । प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीको बीमा कोषको आकार १४६ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
यता, सबैभन्दा धेरै जीवन बीमा कोष नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । यसको बीमा कोषको आकार ३१ दशमलव ०८ प्रतिशतले बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ छ ।
प्राइम लाइफ बाहेक अन्यको जगेडा कोष बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ बाहेक अन्य ७ कम्पनीको जगेडा कोष बढेको छ । यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । यसको जगेडा कोष ८२ दशमलव ७५ प्रतिशत ले बढेर ५६ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, सबैभन्दा धेरै जगेडा कोष भने नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीकोे जगेडा कोष ३८ दशमलव ८४ प्रतिशतले बढेर ३ अर्ब ६६ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
आठवटै कम्पनीको मुनाफा बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत ८ वटै कम्पनीको खुद नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै गतिले मुनाफा बृद्धि गर्ने कम्पनीको रुपमा एलआईसी नेपाल पहिलो हुन पुगेको छ । खुद नाफामा नेपाल नै पहिलो भएपनि बृद्धिदरका आधारमा भने एलआईसी नेपाल अगाडि आएको हो । नाफा बढाउनेमा लाइफ इन्स्योरेनस कर्पोरेसन (एलआइसी) नेपाल रहेको छ । यस अवधिमा कम्पनीको नाफा १४४ दशमलव ६४ प्रतिशतले बढेर ५ करोड ७९ लाख २६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, चालु आर्थिक बर्षमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीको नाफा १२ दशमलव ०२ प्रतिशतले बढेर २२ करोड ९० लाख रुपैयाँ पुगेको छ । तथापि, जीवन बीमा कम्पनीहरुले बीमांकीय मूल्याङ्कनपछि मात्रै औपचारिक मुनाफा तय हुने हुँदा वित्तीय विवरणमा प्रकाशित मुनाफालाई अन्तिम मुनाफाको रुपमा विश्लेषण गर्न मिल्दैन ।
कम्पनीहरुको खुद बीमा शुल्क बढ्यो
प्रथम त्रैमासको अवधिमा आठवटै जीवन बीमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । यसअवधिमा सबैभन्दा धेरै खुद बीमा शुल्क आर्जन गर्ने कम्पनी गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन ११४ दशमलव ६२ प्रतिशतले बढेर ९६ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा धेरै खुद बीमाशुल्क नेपाल लाइफले आर्जन गरेको छ । यस कम्पनीको खुद बीमा शुल्क १४ दशमलव १५ प्रतिशतले बढेर ८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । समग्रमा नेप्सेमा सूचिकृत ८ वटै जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्थामा सुधार भएको देखिएको छ । कम्पनीहरुको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, खुद मुनाफा तथा खुद बीमा शुल्क आर्जन सकारात्मक देखिएका छन् ।