हप्तामा दुई दिन सार्वजनिक बिदा : सरकारी अध्ययन समितिले सरकारलाई यस्तो सिफारिस दियो
काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस गरेको हो । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो ।
आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ ।
अहिले नेपालमा शनिबार मात्र सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । मन्त्रालयले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने भन्दै सातामा दुई दिन बिदा दिने प्रावधानबारे अध्ययन गर्न समिति गठन गरेको थियो ।
समितिले विगतमा प्रकाशित कागज तथा दस्तावेजको अध्ययन, पर्यटन सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सरकारी खर्च सम्बन्धमा दुई दिने बिदाले पार्ने प्रभावबारे सरोकारवालासँग समेत छलफल गरेको थियो । विज्ञहरुको राय, उद्योगी, ट्रेड यूनियनसँगको छलफलका निष्कर्षलाई समेत अध्ययनको विधिमा राखिएको समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास, सन्धी सम्झौता र नीति नियमलाई समेत अध्ययनको आधार मानिएको छ ।
समितिले गरेको अध्ययन अनुसार संसारका ८८ प्रतिशत मुलुकमा सातामा दुई दिन सार्वजनिक बिदा दिइने गरेको छ । सातामा एक दिन मात्र बिदा दिने मुलुक १२ प्रतिशत रहेको अध्ययनमा देखिएको छ ।
एउटा देशले भने सातामा तीन दिनसम्म बिदा दिने गरेको छ । सबैभन्दा बढी बिदा दिने मुलुक कम्बोडिया र सबैभन्दा कम सार्वजनिक बिदा दिने मुलुक मेक्सिको भएको अध्ययनमा उल्लेख छ ।
६ दिनको अवधिमा सातामा ४० घण्टा काम गर्नुपर्ने अहिलेको प्रावधानभन्दा ५ दिनको काम गरेर सातामा ४० घण्टा कार्यअवधि पुरा गर्दा कम खर्चिलो हुने तर्कसमेत समितिको रहेको छ ।
यो बाँकी रहेको समय व्यक्तिले परिवार, मनोरन्जन, घुमफिरमा बिताउँदा अर्थतन्त्रका अन्य समेत चलायमान हुने आंकक्षा गरिएको छ ।
शुक्रबार आधा दिन मात्र काम गर्नुपर्ने प्रावधानका कारण पूर्ण क्षमतामा काम नहुने अवस्थालाई समेत समितिले दुई दिन बिदा आवश्यक रहेको तर्क गरेको छ ।