नागरिक पोष्ट News


सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

2K

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर आठ हजार ८४८.८६ मिटर कायम भएको छ । नेपालले पहिलोपटक आफ्नै स्रोत, साधन र जनशक्तिले सगरमाथाको उचाइ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । यसले नेपाल र नेपालीको सम्मान र स्वाभिमान पनि बढेको सरकारका वरिष्ठ मन्त्रीहरुले उल्लेख गर्नुभएको छ ।

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न आज यहाँ आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको उचाइ बढ्नु नेपालका निम्ति अविष्मरणीय र गौरवपूर्ण घटना भएको भएको छ ।

यसरी नापियो उचाइ

सगरमाथाको उचाइ मापनका लागि नापी विभागका प्रमुख अधिकृत ९हालका उपसचिव० खिमलाल गौतमको नेतृत्वमा अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धितालको टोली गएको थियो । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो ।

सगरमाथाको उचाइ मापन परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भूआकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको विभागले जनाएको छ । मापन शुरु गर्नुपूर्व विभागले दुई वर्षअघि भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञकै सुझावका आधारमा कार्यविधि तयार गरिएको थियो ।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेको भएपनि त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । सन् १९५४ मा भारत र सन् १९७५ चीनले सगरमाथाको उचाइ मापन गरेको थियो । त्यसैगरी सन् १९८७, सन् १९९२ र सन् २००४ मा इटालीले तथा सन् १९८९ मा अमेरिकाले मापन गरेको थियो । त्यस्तै सन् २००५ मा पुनः चीन र सन् २०१० मा इटालीले सगरमाथाको उचाइ मापन गरेका थिए ।

Must View