कोभ्याक्समार्फत २० प्रतिशत खोप, नेपालमा कुन खोप बढी उपयुक्त ?
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा प्रमुख डा। झलक शर्मा गौतम बताउँछन्। डा। गौतमका अनुसार ३ प्रतिशतले ९ लाख र १७ प्रतिशतले झन्डै ६० लाख जनसंख्यालाई पुग्नेछ।
विभागअन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीका अनुसार खोप भण्डारण व्यवस्थापनको तयारी भइरहेको छ। कोभिड खोप भण्डारण समितिका संयोजकसमेत रहेका भण्डारी पहिलो चरणमा ल्याइने खोपका लागि तयारी पूरा भइसकेको सुनाउँछन्।
‘दोस्रो चरणमा ल्याउने खोप भण्डारण गर्न आवश्यक गृहकार्य भइरहेको छ’, उनी भन्छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०, गाभीलगायत स्वास्थ्य संस्थाको विश्वव्यापी सञ्जाल कोभ्याक्सअन्तर्गत आउने खोप न्यून शुल्क वा निःशुल्क रूपमा उपलब्ध हुने जनाइएको छ। कोभ्याक्सको गाइडलाइनअनुसार स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनमा कार्यरतलाई पहिलो चरणमा खोप लगाउनुपर्ने व्यवस्था छ।
नेपालमा १५ वर्षमुनिका बालबालिकालाई खोप कार्यक्रममा समेटिएको छैन। खोप ल्याउन गठित कार्यदलका सदस्यसचिवसमेत रहेका डा। गौतम विश्वका कुनै पनि मुलुकमा बालबालिकाका लागि कोरोना खोप परीक्षण नभएको बताउँछन्। नेपालमा कुल जनसंख्याको २८ प्रतिशत बालबालिका छन्। बालबालिकाबाहेक ७२ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप कोष सञ्चालन, प्राविधिक, भण्डारण, अनुगमन तथा क्लिनिकल व्यवस्थापनलगायत व्यवस्थापकीय तयारीका लागि आठ वटा समितिले कार्य गरिरहेको उनी बताउँछन्।
‘परीक्षणमा रहेका विभिन्न मुलुकका खोपको अवस्थालाई अध्ययन गरिरहेका छौं’, उनी भन्छन्, ‘जुन खोप बढी प्रभावकारी हुन्छ त्यही आयात गर्छौं।’ नेपाललाई उपयुक्त खोपका लागि खोप व्यवस्थापन प्राविधिक विज्ञ समितिले सुझाव दिने जनाइएको छ।
खोप विज्ञ एवं बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा। श्यामराज उप्रेतीको संयोजकत्वमा गठित समितिले अध्ययन गरिरहेको छ। ‘नेपालमा कहिले खोप उपलब्ध होला भन्ने यकिन गर्न गाह्रो छ’, उनी भन्छन्, ‘खोप खरिद एवं भण्डारण व्यवस्थापनका लागि करिब ४८ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान छ।’
कुन खोप बढी उपयुक्त ? नेपालमा २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने पूर्वाधार छ। केही स्थानमा माइनस २० डिग्री सेल्सियसमा पनि भण्डारण गर्न सक्ने पूर्वाधार क्षमता रहेको भण्डारण समितिका संयोजक भण्डारी बताउँछन्।
डा। गौतमका अनुसार २ देखि ८ डिग्री सेल्सियसमा राख्न सकिने खोप नै नेपालमा सहज हुन्छ। प्रारम्भिक रिपोर्टका आधारमा कोल्ड चेन अर्थात् भण्डारणको दृष्टिले तीन खालका खोप देखिएको छ। अमेरिकाको मोडेर्ना र फाइजरलगायत कम्पनीद्वारा उत्पादित खोप बढी चर्चामा छन्।
मोडेर्ना र फाइजर दुवैले खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको दाबी गरेका छन्। जर्मनीको बायोएनटेकसँग मिलेर फाइजरले उत्पादन गरेको खोपलाई स्वीकृतिका लागि अमेरिकी नियामक निकायमा निवेदन दिइएको छ।
-अन्नपूर्ण पोस्ट् दैनिकबाट