नागरिक पोष्ट News


अनमोल केसीको बहुचर्चित फिल्म ‘क्याप्टेन’ युबट्युबमा

1.9K

 

काठमाडौ । अनमोल केसीको बहुचर्चित फिल्म ‘क्याप्टेन’ युबट्युबमा प्रशारण भइरहेको छ । यो समाचार प्रकाशन गर्दै गर्दा लाईभ प्रिमियरको समय ५५ मिनेट भएको छ । अब सबैले घरमा बसेर युबट्युबमा ‘क्याप्टेन फिल्म हेर्न पाउँनेछन् । भिडियो अन्तिममा अपलोड गरिएको छ ।

‘क्याप्टेन’ फिल्म बारे सदावहार अभिनेता हुन् भुवन केसी । अहिलेका चर्चित अभिनेता उनकै छोरा अनमोल केसी । त्यस्तै पछिल्लो समय सम्भावना बोकेका निर्देशकमा हेरिएका छन्, दिवाकर भट्टराई । भुवनको निर्माण, दिवाकरको निर्देशन अनि अनमोलको अभिनयको सहकार्य हो, फिल्म क्याप्टेन ।

फिल्मको जनरा स्पोर्टस्, त्यसभित्र फूटबल मूलकथा । निःशन्देह टिजर, ट्रेलर र गीत–संगीतले दर्शकलाई छोएको थियो । टिजर, ट्रेलर र गीत(संगीतले छोएको दर्शकलाई फिल्म कस्तो लाग्छ त ?

यस्तो छ कथा झापाको एक निम्न वर्गीय परिवार । बुबाआमाको एक्लो सन्तान् इशान खड्का (अनमोल केसी) । जसको आमा (सूर्यमाला खनाल) लाई फूटबल मन पर्दैन । बुबा (सरोज खनाल) को सपनै फूटबलमा छ( देशलाई गोल्ड मेडल जिताउने । तर आफ्नो सपना पूरा हुने छाँटगाट छैन । उनी आफ्नो सपना छोरा ईशानमा समर्पित गरेर विदेशिन बाध्य हुन्छन् ।

ईशानमा पनि बच्चैदेखि फूटबलप्रति तीव्र लगाव छ । स्थानीय स्तरका फुटवल प्रतियोगीतामा आफूलाई अब्बल सावित गर्दैछ । राष्ट्रिय खेलाडी हुने र देशलाई गोल्ड मेडल जिताउने सपना लिएर उसले लगावका साथ तीव्र मेहनत र अभ्यास गर्छ ।

तर विडम्बना विदेश गएका उनका बुबा अशक्त बनेर फर्किन्छन् । त्यसपछि ईशान फूटबल खेलभन्दा पारिवारिक दायित्व बोध गर्नतर्फ लाग्नुपर्ने हुन्छ । बुबाको उपचार खर्च जुटाउन उसले संघर्ष गर्नुपर्ने हुन्छ । यसबीचमा उनले गाडी धुन्छन्, सिमेन्टको भारी बोक्छन्, होटलमा वेटर काम गर्छन्, भित्तामा पोष्टर टाँस्ने काम गर्छन्, भित्तामा रंग लगाउँदै हिँडछन् ।

काममा उनलाई तामाङ (बुद्धि तामाङ)ले सहयोग गरेका छन् । त्यस्तै गाउँकै साथी श्रेया (उपासना सिंह ठकुरी) ले पनि ईशानलाई साथ र सहयोग गर्छिन् । उनी ईशानको सामिप्यता चाहन्छिन् । आर्थिक अभाव हुँदा आर्थिक सहयोगसमेत गर्छिन् । ईशानसँगको निकटताका लागि पढ्ने बहानामा काठमाडौंसम्म पुग्छिन् ।

भित्तामा रंग लगाउँदै हिँडेका ईशान संयोगले एक फूटबल क्लबका प्रशिक्षक मिष्टर थापा (प्रशान्त ताम्राकार) को नजरमा पर्छन् । विभिन्न अफ्ट्याराबीच ईशानको फूटबल खेल अगाडि बढ्दै जान्छ । फूटबल क्लबका प्रशिक्षकसँग जोडिएपछि उनको यात्रामा केही पात्र जोडिन्छन् ।

खेलाडीकै रुपमा अमन (विल्सनविक्रम राई), प्रेमिकाको रुपमा चारु (प्रियंका एमभी) र दुश्मनको रुपमा खेलाडी रविन महर्जन (अमित श्रेष्ठ) अनि राष्ट्रिय खलाडीका प्रशिक्षकको भूमिकामा छन् सुनिल थापा । यी पात्रसँग जोडिएपछि आउने उदारचढावलाई ईशानले कसरी ह्याण्डल गर्दै साफ च्याम्पियनसिपसम्म पुग्छन् ? त्यो जान्नका लागि २ घण्टा १५ मिनेट हलमै बिताउनुपर्नेछ ।

राम्रो पक्ष

फूटबल खेलमा रुचि राख्ने युवापुस्ताको संख्या नेपालमा उल्लेख्य छ । यसर्थ पनि ती युवापुस्तालाई ‘क्याप्टेन’ले आकर्षित गर्नेछ । युवापुस्तामाझ लोकप्रिय अनमोललाई पनि दर्शकले भिन्न भूमिकामा देख्न पाउनेछन् । फिल्मको अर्को बलियो पक्ष हो, गीतसंगीत । ‘रहर छ सँगै’ र ‘कर्ली कर्ली कपाल’ दर्शकलाई प्रिय लाग्छन् । फिल्म छायाँकन, लोकेशन, केही संवादले दर्शकलाई छुन्छ ।

एक युवाले देशका लागि फूटबल खेल्न गरेको संघर्षको कथा भएपनि कमेडी, रोदन, लभ, एक्सन सबै फिल्मभित्र छन् । फिल्ममा स्टार कलाकारहरूको लाम छ । केही स्टार कलाकारहरूलाई अतिथि भूमिकामा पनि देख्न सकिन्छ । अभिनेता भुवन केसी र निरुता सिंहले एउटा गीतमा नृत्य गरेका छन् भने सलोन बस्नेत, निर्मल शर्मा लगायतलाई दर्शकले अतिथिको भूमिकामा देख्न सक्छन् ।

कमजोरी ?

पर्दाभित्र अनमोल केसी क्याप्टेन भएपनि पर्दा बाहिरका क्याप्टेन हुन्– दिवाकर भट्टराई । तर उनको क्याप्टेनशिप अझ पक्का बन्न सकेको छैन । उनले फिल्मभित्र केही कमीकमजोरीहरू छाडेका छन् ।

फिल्मभित्र समावेश गरिएका अन्य मसलाहरूले फूटबलको कथालाई अलमलमा पारेको छ । फूटबल खेलाडीका रुपमा इशान (अनमोल) को संघर्षलाई गतिलो तरिकाले उन्न सकिएको छैन । त्यस्तै फूटबलको फिल्म हेरिरहँदा दर्शकलाई जुन रोमाञ्चकता पेश गर्नुपर्ने हो, त्यो गहिराईसम्म फिल्म पुग्न सकेको छैन ।

अन्य बाहिरी कुराहरूलाई जोड्नुभन्दा फूटबलभित्रका समस्या, समाधानका कुराहरूलाई गहिरो अध्ययन गर्न सकिन्थ्यो । तर फिल्ममा पारिवारिक समस्या र प्रेमकथा हाबी भएको छ । प्राविधिक पक्षमा पनि फिल्म केही चुकेको देखिन्छ । पार्श्व ध्वनी, डबिङ, भिएफएक्समा पनि नमजासँग चिप्लिएको छ । जुन भिएफएक्सका दृश्यले दर्शकका आँखा बिझाउँछ ।

अभिनय कस्तो ?

केहीलाई छाडने हो भने कलाकारहरूको अभिनय पनि पर्दामा जीवन्त देखिएको छैन । अनमोलको अभिनय अघिल्ला फिल्ममा जस्तै छ । उनले आफ्नो चरित्रलाई न्याय गर्न सकेका छैनन् । सधैँजस्तै प्रशान्त ताम्राकारको अभिनय ठिकठाक छ । केही सिनहरूलाई छाडने हो भने सरोज खनाल र सूर्यमाला खनालको अभिनय औसत लाग्छ ।

नव अभिनेत्री उपासना सिंह ठकुरीले स्वभाविक अभिनय गरेर फिल्म नगरीमा केही सम्भावना देखाएकी छन् । अर्की अभिनेत्री प्रियंका एमभीको अभिनय भने त्यति चोटिलो छैन । विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सुनिल थापा, अमित श्रेष्ठ लगायतले चरित्रलाई सक्दो न्याय गरेका छन् ।

अन्त्यमाः

शुरूमै उल्लेख गरियो ‘क्याप्टेन’ फिल्म क्षेत्रका तीन हस्तीको सम्मीश्रण हो । तर त्यो सम्मीश्रण फिल्ममा देखिँदैन । भुवन, अनमोल र दिवाकरबाट दर्शकले योभन्दा उच्च शैलीको फिल्मको अपेक्षा गरेका थिए र गर्छन् । यद्यपि पुरानै कथामा फिल्म बनाउँदा त कमजोरी हुन्छन्, यो त नेपालमा बिल्कुलै नयाँ कथा । आशा गरौं, आउँदा फिल्ममा यी हस्तीको क्याप्टेनसिप क्षमता बढ्नेछ । अर्को, यी हस्तीले फूटबलको कथामा दाउ लगाएर जोखिम मोलेकै हुन् । उनीहरूको यो कार्यलाई प्रशंसा गर्नैपर्छ ।

हामीकहाँ धेरै फिल्महरू बाहिरबाट आयातित कथामा निर्माण हुन्छन् । धेरै फिल्महरू उस्तै धारका बन्छन् । तर क्याप्टेन बिल्कुलै फरक छ । ती फिल्मको तुलनामा क्याप्टेनलाई माथिल्लो दर्जाकै फिल्मको दर्जामा राख्न सकिन्छ ।

नेपालमा फूटबल खेलको क्रेज पनि छुट्टै छ । यसर्थ फूटबल खेलप्रेमी दर्शकलाई क्याप्टेन मन पर्नसक्छ । अनमोलका फ्यान र नयाँ कथामा फिल्म हेर्न चाहने दर्शकले ‘क्याप्टेन’ नछुटाउँदै वेश ।

फिल्म ? क्याप्टेन विधा : खेल लेखक तथा निर्देशक : दिवाकर भट्टराई निर्माता : भुवन केसी मुख्य कलाकारहरू : अनमोल केसी, प्रशान्त ताम्राकार, सरोज खनाल, सूर्यमाला खनाल, उपासना सिंह ठकुरी, प्रियंका एमभी, विल्सन विक्रम राई, बुद्धि तामाङ आदि ।

 

Must View