नागरिक पोष्ट News


कक्षा १२ को नतिजा महिना दिनभित्रै आउने, कोरोना सङ्क्रमितलाई परीक्षाको पुन: अवसर

2.1K

काठमाडौं  कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।

परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । शिक्षकले उत्तरपुस्तिका परीक्षण गरी विद्यार्थीको प्राप्ताङ्क पठाइदिएपछि तीन साताभित्र परीक्षाको बाँकी काम पूरा गर्ने बोर्डको तयारी छ । त्यसपछि सम्परीक्षणको काम एक साताभित्र सक्ने योजना छ । विद्यार्थीको प्राप्ताङ्क चढाउने र परीक्षा प्रकाशनको अन्तिम तयारी गर्ने योजना बनाइएको छ । 

सङ्क्रमितलाई परीक्षाको अवसर यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ । कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।

Must View