कोरोना संक्रमणको बर्तमान सन्नाटा ; डा. रवीन्द्र पाण्डे
- परीक्षणको दायरा घटेको छ | अहिले परीक्षण गराउने अधिकांश व्यक्तिमा बाहिर जाने, बाहिरबाट आउने, अफिसलाई रिपोर्ट बुझाउनुपर्ने, फिल्ड जाने / आउने ... धेरै छन् |
- कन्ट्याक्ट ट्रेसिंग एकदम न्यून छ |
- लक्षण देखिएका व्यक्ति, एकजना संक्रमित देखिएको व्यक्तिका पारिवारिक सदस्य, संक्रमितसंग भेट भएका व्यक्ति, बृद्धबृद्धा आदिले परीक्षण गराउन उत्सुक छैनन् | यो समुह ठूलो संख्यामा छ र जोखिममा छ |
- एन्टीजेन किट तथा एन्टिबोडी टेस्टले संक्रमणको अवस्था थाहा पाउन सकिन्थ्यो | यसमा सरकार उदासिन देखिएको छ | दशैं अघिं गर्ने भनिएको सेरोप्रिभ्यालेंस टेस्ट अहिले विस्मृतिमा परिसकेको छ |
- क्वारेन्टिन खाली छन्, आइसोलेसन केन्द्र खाली छन् | यसको अर्थ हुन्छ, त्यहाँ खानपिन, न्यानो, सरसफाई, बाथरुम आदि राम्रो छैन | त्यहाँ बस्यो भने दुख पाइन्छ भन्ने आम मानसिकता छ | आइसोलेसन केन्द्र खाली हुनु राम्रो इन्डिकेटर हैन |
- अधिकांश संक्रमित होम आइसोलेसनमा छन् | उनीहरुलाई सरकारी स्तरबाट अनुगमन, निगरानी, परामर्श आदिको ब्यबस्था छैन | अन्दाजको भरमा फार्मेसीबाट औषधि किनेर खाने, निको भएका संक्रमितले भनेको औषधि खाने तथा आफ्नो अवस्था थाहा नपाउने स्थिति छ |
- १/ २ वटा कोठामा बस्ने संक्रमित आइसोलेसन केन्द्रमा नबस्ने तथा जेनतेन त्यहीं एडजस्ट हुने स्थिति छ |
- हजारौं संक्रमितले आफु संक्रमित भएको तथ्य लुकाउने अवस्था तथा बाध्यता छ | संक्रमित भएमा रोजगार जाने, घरबेटीले बस्न नदिने लगायतको कारण उनीहरु सार्वजनिक यातायात, पसल, बजार, कार्यस्थल आदि ठाउँमा आवतजावत गरिरहेका छन् |
- संसारमा नेपाल एकमात्र यस्तो देश हो जहाँ मास्क अनिबार्य छैन, दुरीको अनुगमन कसैले गर्दैन तथा भीड नियन्त्रण कसैले गर्दैन |
- अस्पतालका जनरल वार्ड खाली हुने तर आइसीयु / भेन्टिलेटर प्याक हुनुको अर्थ निकै चिन्ताको बिषय हो | संक्रमितहरु निमोनिया भएर वा सास फेर्न नसक्ने भएपछि मात्र अस्पताल जाने प्रचलन देखिएको छ | जसले गर्दा संक्रमितलाई सिधै आइसीयु / भेन्टिलेटरको आवश्यक पर्छ |
- मृतकको संख्या बढिरहेको छ | अहिले देखाइएको मृत्युको तथ्यांक अस्पतालमा मृत्यु भएका संक्रमितको मात्रा हो | होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको पिसिआर टेस्ट गरिएको छैन | गाउँगाउँमा भएका मृत्युको अभिलेख छैन |
- विश्वका बिभिन्न देशमा फैलिएको दोस्रो लहर नेपालमा पनि आयो भने अवस्था कठिन बन्न सक्छ | त्यसैले आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, बन्द कोठामा कुनै व्यक्तिलाई नभेट्ने तथा हात सफा गरिरहने गर्नुपर्दछ |
- जाडो याममा बालबालिका, बृद्धबृद्धा तथा दीर्घबिरामी सधै जोखिममा रहन्छन् | यो समुह कम्तिमा ३ महिना घरबाहिर निस्किनु हुँदैन | जोखिम बर्गले प्रदुषण बढेको बेला मार्निंग वाक गर्नु हुँदैन | इन्फ्लुएन्जाको खोप सबैले लगाउँदा राम्रो हुन्छ | ६५ बर्ष पार गरेका वा दीर्घरोग भएका व्यक्तिले निमोनियाको खोप लगाउनु सुरक्षित हुन्छ |
- सरकारले जनस्वास्थ्यका मापदण्ड कडाइ गर्ने, ब्यापक अनुगमन र निगरानी गर्ने तथा जरिवानाको ब्यबस्था गर्नुपर्छ | महामारीको समयमा सरकारको १०० % ध्यान महामारी नियन्त्रणमा हुनुहुपर्दछ |
- विश्व बजारमा खोप आउन लामो समय लाग्दैन | यो जाडो मौसम बितेपछि हामीले पनि क्रमशः खोप पाउने छौं | खोप आएपनि एकैपटक नआउने भएकोले जनस्वास्थ्यका मापदण्डलाई आफ्नो जीवनशैली बनाउनु पर्दछ | सम्पूर्ण नेपालीलाई पुग्ने गरि खोप आउन २०२१ को पुरै बर्ष लाग्छ | तसर्थ सरकार र नागरिकको जोड जनस्वास्थ्यका मापदण्ड पालना गर्ने / गराउने हुनुपर्दछ |