नागरिक पोष्ट News


सुन तोलामै ३ हजारले सस्तियो, मूल्य अझै घट्ने

2.2K

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो ।

एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन लगायतका कारणले सात महिनासम्म बन्द सुन बजारमा खरिद बिक्रीको चहल पहल बढेको छ ।

आइतबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमबार पनि यथावत नै थियो । तर मंगलबार सुनको भाउ तोलामै एक हजार आठ सय रुपैयाँले घट्यो । सो दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले सस्तिएको थियो । बुधबार पुनः एक हजार रुपैयाँले सुनको भाउ सस्तो भएर ९१ हजार पाँच सय रुपैयाँ कायम भयो ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा पाँच रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ थियो । विहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा दुई सय रुपैयाँले सस्तिएर ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।

दिन छापावाल सुनको प्रतितोला मूल्य तेजावी सुनको प्रतितोला मूल्य चाँदीको मूल्य
 
आइतबार रु.९४,३०० रु. ९३,८०० रु.१,२१०
सोमबार रु. ९४,३०० रु. ९३,८०० रु.१,२१०
मंगलबार रु. ९२,५०० रु. ९२,००० रु.१,१८०
वुधबार रु. ९१,५०० रु. ९१,००० रु.१,१७५
विहीबार रु. ९१,५०० रु. ९१,००० रु.१,१७५
शुक्रबार रु. ९१,३०० रु. ९०,८०० रु.१,१६५

 

सुनको भाउमा पछिल्लो एक साताको अवधिमा आएकोे गिरावटका कारण उपभोक्ताहरु अझै सुनको मूल्य ओरालो लाग्ने विश्लेषणमा छन् । बिहेका लागि सुन नभई नहुने भएकाले पनि मानिसहरु पर्ख र हेरको अवस्थामा रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउमा यस वर्ष कायम भएको हालसम्मकै उच्च मूल्यको रेकर्ड लामो समय टिक्न नसकेका कारण मूल्यको उतार चढाव निरन्तर नै रहने महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि एक हजार आठ सयदेखि एक हजार आठ सय १० डलरको बीचमा रहेको सुनको मूल्य केही समय स्थिर रहने उनको आँकलन छ ।

Must View