बालिकाको बलात्कारपछि हत्या प्रकरण : प्रहरीले ताकि ताकि गोलि हानेको आरोप, मेयर माथि छानबिनको माग
बर्दिवास । महोत्तरीमा ६ वर्षीया बालिकाको हत्यापछि तनाव बढेको छ । हत्या गरिएकी बालिकाको शव स्थानीयले नियन्त्रणमा लिएर सडक प्रदर्शन गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको बताएको छ ।तर स्थानीयले भने यसको अस्वीकार गरेका छन्, प्रहरीले ताकि ताकि गोलि हानेको स्थानीयको आरोप छ । प्रहरीले चलाएको रबरको गोली लागेर १ जना स्थानीय घाइते भएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी सीडीओ कृष्णबहादुर कटवालले जानकारी दिए ।
बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अरुणकुमार साहको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् । आइतबार साँझदेखि हराइरहेकी स्थानीय शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।
आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।
पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।
सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।
साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।
गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिए ।
डीएसपी चापागाईँका अनुसार हत्या आरोपमा पक्राउ परेका साहले आरोप स्वीकार गरिसकेका छन् ।
बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीय तोडफोड आगजनी गरेका हुन् ।