नागरिक पोष्ट News


प्रधानमन्त्री ओलीको देउवालाई प्रस्ताव : ‘मिलेर सरकार बनाऔं, म जे गर्न तयार छु’

2.8K

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वर्तमान सरकारको स्थायित्वमाथि नै प्रश्न उठेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताहरु यतिवेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

आफ्नै पार्टी भित्रका नेताहरुवाट आलोचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेताहरुसंग छलफल अघि बढाएका छन् । ओलीले शनिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग महत्वपूर्ण कुराकानी गरेका छन् । दुई अध्यक्षबीच भएको लामो कुराकानीमा मिलेर जाने विषय भएको बताइएको छ ।

तीन घन्टा बालुवाटारमा दुवै नेताले राजनीतिक घटनाक्रमको समिक्षा गरेर भविष्यमा मिलेर जानेबारे कुराकानी गरेको बुझिएको छ । खासमा संवैधानिक रिक्त पदमा नियुक्तिका विषयमा छलफल गर्न प्रधानमन्त्रीले देउवालाई बोलाएपनि सत्ता साझेदारीको बिषयमा छलफल केन्द्रीत भएको काँग्रेस नेताहरुको भनाइ छ । नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले देउवालाई भनेका थिए- ‘अब मिलेर सरकार बनाऔँ के गर्नु पर्छ म तयार छु।’

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका मुख्य नेताहरुसंग ओलीले दुरी बढेको छ । विवाद उत्कर्षमा पुगेर त्यसको प्रभाव जिल्लामा समेत देखिएको छ । नेताहरु एक अर्का विरुद्ध उत्रिएका छन् । विश्वस्त स्रोतका अनुसार उनले देउवासँग मिलेर जाने सम्भावनाबारे समेत बताएका थिए । आफु अहिले पार्टी भित्रै अप्ठेरोमा परेको भन्दै देउवालाई साथ दिन आग्रह गरेको बुझिएको छ ।

देउवा विश्वासपात्रहरु गोपालमान श्रेष्ठ र रमेश लेखकसँगै अपरान्ह बालुवाटार पुगेका थिए । उनी फर्कदा साँझ परिसकेको थियो । प्रधानमन्त्री ओलीले पनि विश्वासपात्रहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र भानुभक्त ढकाललाई सँगै राखेको बताइएको छ । छलफलमा बालुवाटारमा दुवै नेताले राजनीतिक समिक्षा गरेको बताइएको छ । ।

Must View