नागरिक पोष्ट News


ब्रोकर कमिसनका बारेमा अध्ययन भइसकेको धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज

1.8K

काठमाडौं : नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले ब्रोकर कमिसनका बारेमा अध्ययन गरिसकेको बताएका छन् । उनले अब सरोकारवालाहरुसँग छलफल गरी यसलाई अन्तिम रुप दिने बताएका छन् । सोमबार स्टक ब्रोकर एसोसिएसनका नव नियुक्त पदाधिकारीहरु सँगको भेटघाट कार्यक्रममा ढुंगानाले उक्त जानकारी दिएका हुन् । लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै आएका छन् ।

 

साथै, उनले टिएमएसलाई थप प्रभावकारी बनाई बैंक इन्टिग्रेशनको कार्य चाँडै सम्पन्न गरिने बताए । उनले धितोपत्र बजारका विभिन्न उपकरणमा लगानी गर्न सकिने गरी अन्तर्राष्ट्रिय स्तरको लगानीकर्तामैत्री बजार बनाउने समेत प्रतिवद्धता जनाए । उनले मार्जिन कारोबारलाई विस्तार गरी धितोपत्रको तरलता प्रदान गर्ने औजारको रुपमा विकास गर्ने, ऋणपत्रको दोस्रो बजार विस्तार गर्ने, ब्रोकरको शाखा कार्यालयमार्फत दोस्रो बजारको पहुँच विस्तार गर्ने, आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐन अनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने बताए ।

 

स्टक ब्रोकर एसोसिएसनका नवनिर्वाचित अध्यक्ष सन्तोष मैनालीले कोभिड–१९ का कारण धितोपत्रको दोस्रो बजारमा अवसर र चुनौती दुवै आएको बताए । कोरोनाकै बीचमा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताको संख्यामा उल्लेख बृद्धि भई दोस्रो बजारको दायरा बढिरहेको उनले बताए । मैनालीले लगानीकर्तालाई नयाँ उपकरणमार्फत लगानीको थप अवसर प्रदान गरी बजार विस्तार गर्ने चुनौती कायमै रहेको बताएका छन् । 

 

धितोपत्रको दोस्रो बजार प्रविधिमैत्री हुँदै गर्दा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) र यसमा निहित जोखिम व्यवस्थापनका लागि छुट्टै संरचना र नीति ल्याई धितोपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित बनाउनुपर्ने मैनालीले बताए । उपाध्यक्ष धर्मराज सापकोटाले धितोपत्रको दोस्रो बजार सेवालाई थप संस्थागत बनाउँदै लैजान आवश्यक रहेकाले त्यसमा एसोसिएसले विशेष भूमिका खेल्ने बताउँदै नियमन निकायको रुपमा बोर्डले दिने निर्देशनको अक्षरस पालना गर्दै जाने बताए । 

Must View