नागरिक पोष्ट News


कोरोना संक्रमणबाट नेपालका दुई जना वरिष्ठ डाक्टरको मृत्यु, चिकित्सा क्षेत्रमा अपुरणीय क्षति

2.7K

काठमाडौं- बिरामीको उपचारकै क्रममा कोरोना संक्रमण भएका दुई जना डाक्टरको मृत्यु भएको छ। बिरामीको उपचारकै क्रममा उनीहरुको निधन भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले दुख प्रकट गरेको छ।

कोरोना संक्रमणपछि मृत्यु हुनेमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापकसमेत रहेका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापा छन्। डा झाको मंसिर १ गते सोमबार बिहान मृत्यु भएको हो भने डा थापाको आइतबार राती मृत्यु भएको केन्द्रले जनाएकाे छ।

अस्पतालका संस्थापक सदस्य समेत रहेका थापाको हिजो राती मेडिसिटी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको ईशान अस्पतालका निर्देशक डा आरपी चौधरीले जनाएका छन्। १० दिनदेखि कोरोना संक्रमणमा परेर काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारमा रहेका उनको आइतबार राती मृत्यु भएको हो ।

बाल शल्य चिकित्सामा महत्वपूर्ण भूमिका निभाएका ८० वर्षीय वरिष्ठ बाल शल्य चिकित्सक डा थापा नेपाल बर्न सोसाइटीका समेत अध्यक्ष हुन्। सरकारले यी दुबै डाक्टरको मृत्युबाट देशलाई ठूलो क्षति पुगेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

डा. झाले अक्टोवर १६ मा आफू र आफ्ना परिवारका सबै सदस्यहरु कोरोना संक्रमणमा पोजिटिभ देखिएको भन्दै आफूहरुको सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन फेसबुकमा स्टाटस लेखेका थिए । लामो समय भेन्टिलेटरमा रहेर कोरोना भाइरससित संघर्ष गर्दागर्दै उनको निधन भएको हो ।

Must View