नागरिक पोष्ट News


घरघरमा संक्रमित हुने अवस्था आइसक्यो, तिहार र छठलगत्तै उपत्यका प्रवेश गर्ने नाका सिल गर्न सरकारलाई सुझाव

2K

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांकअनुसार काठमाडौं उपत्यकामा झण्डै २० हजार सक्रिय संक्रमित छन् ।

बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगरपालिका फोरमले तिहार र छठलगत्तै उपत्यका प्रवेश गर्ने नाका सिल गर्न सरकारलाई सुझाएको छ ।  काठमाडौं महानगरपालिकाका मेयर एवं फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य भन्छन्,

काठमाडौं उपत्यका नोवेल कोरोना भाइरस (कोभड–१९) को हटस्पट बनेको छ । हामीले चाहेर पनि महामारी नियन्त्रण गर्न सकेको छैनौं । सरकारले केही समय निःशुल्क परीक्षण बन्द गरेकाले जनस्तरमा ब्यापक परीक्षण हुन पाएन । जबकी सहरका धेरैमा लक्षण देखिएको छ ।

कम्तीमा एक हप्ताअघि पूर्वसूचना दिऔं, त्यसपछि भने कडा रुपमा काठमाडौंका नाकाहरू सिल गरौं भन्ने हाम्रो प्रस्ताव हो । त्यसो गर्दा कसैलाई सास्ती हुँदैन ।

दसैं तिहारमा जमघट गरेर खान र रमाइलो गर्न पाइँदैन भनेर लक्षण हुँदाहुँदै पनि परीक्षण नगर्नेहरू धेरै छन् । घर परिवारसंग बसेर रमाइलो गर्न नपाइला कि भनेर धेरैले परीक्षण नै गराएका छैनन् । त्यसैले हामीले तिहार र छठ सकिएपछि काठमाडौं उपत्यकामा परीक्षणको दर बढाउनुपर्छ ।

सरकारले अब सरकारी अस्पतालमा निःशुल्क परीक्षण र उपचार गर्ने व्यवस्था गरेको छ । परीक्षण बढाउन अनुकुल अवस्था बनेको छ ।

त्यसैले काठमाडौंमा परीक्षण बढाएर कोरोना ‘चेन ब्रेक’ गर्ने समय यही हो । जसरी महामारी बढेर प्रत्येक घरका मानिस संक्रमित हुने अवस्था आइसक्यो, यसमा गम्भीर हुनैपर्छ ।

हामीले काठमाडौं उपत्यका नगरपालिका फोरममार्फत सरकारलाई गम्भीर बन्न आग्रह गरेका छौं । हाम्रा मागहरू सुनुवाइ गर्न आग्रह गरेका छौं ।

Must View