नेपालमा ३ करोड जनसंख्या र करिब ७० लाख घर परिवार पुग्ने
ठमाडौं, २४ कात्तिक । नेपालमा ३ करोड जनसंख्या र करिब ७० लाख घर परिवार पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिएका छन् ।
सेजनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय जनगणना २०६८ को वृद्धिदरलाई आधार मानेर गरिएको अनुमानमा अहिले नेपालको जनसंख्या ३ करोड १ लाख ४२ हजार २ सय ६६ रहेको जानकारी दिए । जनगणना सञ्चालनका लागि तयारीका काम अघिल्लो आर्थिक वर्ष २०७६–७७ बाटै सुरु गरिएको थियो । चालु आर्थिक वर्षमा सो काम सक्ने लक्ष्य रहेको उनले बताए ।
विभागले २०७८ सालको जेठ २५ देखि असार ८ गतेसम्म हरेक घरमा पुगेर जनगणना गर्नेछ । देशभर ४३ हजार गणकले घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । उनीहरुको समन्वयका लागि ९ हजार सुपरीवेक्षक कर्मचारी खटाउन लागिएको छ ।