त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने !
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।
विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा. पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए ।
यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।