नागरिक पोष्ट News


भारतका स्थल सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण, के–के गर्दैछन् नेपाल भ्रमणमा

2.4K

काठमाडौ । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे (General Manoj Mukund Naravane, PVSM, AVSM, SM, VSM, ADC) तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७७ कार्तिक १९ गते काठमाडौं आइपुगेका छन् ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई मिति २०७७ कार्तिक २० गते (तदनुसार ५ नोभेम्बर २०२०) राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

बिहीबारै समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । शुक्रबार बिहान नरवणे आर्मी स्टाफ कलेज शिवपुरीमा गएर शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् भने त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर स्वदेश फर्किनेछन् ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

 

Must View