नागरिक पोष्ट News


४४ बैंक तथा वित्तीय संस्थाले मागे ७२ अर्ब पुनरकर्जा, कार्तिकसम्म पाउने

2.6K

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जाका लागि आवेदन परेको छ । ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा माग गरेकोे नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए । ‘४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँको पुनरकर्जा माग भएको छ,’ उनले भने ‘ कार्तिक महिनाभरी पुनरकर्जा उपलब्ध गराइ सक्ने छौं । ’ 

यो रकम ग्राहक अर्थात ऋणीको हातमा सिधै नगइ बैंक तथा वित्तीय संस्थामार्फत जाने समेत ढकालले जानकारी दिए । ऋणीहरूले सहुलियत ब्याजदरमा बैंक तथा वित्तीय संस्थामार्फत नै यो कर्जा पाउने हुन् ,’ उनले भने । 

पुनरकर्जा कार्यविधि २०७७ ले गरेको व्यवस्था अनुसार कोभिड प्रभावित व्यवसायीलाई कर्जा उपलब्ध गराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत सो रकम उपलब्ध गराउन लागेको हो । नेपाल राष्टङ बैंकले कोभिड प्रभावित व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा साधारण पुनरकर्जा उपलब्ध गराउन १४८ अर्ब रुपैयाँ छुट्याएको छ । सो कर्जामा राष्ट्र बैंकले तोेकेको समय सीमा असोज मसान्तसम्म ७२ अर्बको माग आएको हो । पुनरकर्जा कार्यविधि २०७७, अनुसार  सो पुरनकर्जा बैंक तथा वित्तीय संस्थाबाट आएका आवदेनलाई दिने भनिएको ७० प्रतिशत रकमबाट उपलब्ध गराइने छ । 

राष्ट्र बैंकसाग पुनरकर्जाको लागि २१२ अर्ब रुपैयाँ छ । ग्राहकलाई प्रत्यक्ष रुपमा दिने भनिएको कुल पुनरकर्जाको २० प्रतिशत (४२ अर्ब) रकमबाट भने प्रत्यक्ष रुपमा ग्राहकले अहिलेसम्म ५ अर्ब ९ करोड लगिसेकेका छन् । अन्यबाट पनि आवेदन आएको छ । हामी विस्तारै पुनरकर्जा उपलब्ध गराउने तयारीमा छौं । 

कोभिड प्रभावित उद्योगलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा बाडेर कर्जा प्रवाह गर्ने व्यवस्था छ । कोभिड–१९ का कारण प्रभावित उद्योग–व्यवसायलाई राहत दिनका लागि राष्ट्र बैंकले राहत स्वरुप पाँच प्रतिशत ब्याजदरमा पुनकर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत घोषणा गरेको थियो । पुनर्कर्जाका लागि राष्ट्र बैंकले असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने र सम्पूर्ण आवेदन संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनकर्जा उपलव्ध गराउने व्यवस्था गरेको छ ।

पुनकर्जाको लागि आवेदन दिएकाहरुलाई मंसिरभित्र ऋण दिने गरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग छलफल गरी असोज मसान्तसम्ममा परेका निवेदनहरुलाई कात्तिक महिनासम्म  ऋण दिइसक्ने प्रतिवद्धता समेत गरेको छ । 

राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।  बैंकहरूले तोकेका कोरोनाबाट अति प्रभावित ऋणीले १ वर्षसम्म तथा मध्यम र न्यून प्रभावित क्षेत्र भनी तोकिएकाले अधिकतम ६ महिनासम्मको अवधि रहने गरी कर्जा पाउने छन् ।

नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित उद्योगी व्यवसायीलाई तीन वर्गमा वर्गीकरण गरेर नयाँ कार्यविधि ल्याएको छ । कार्यविधिले त्यस्ता व्यवसायीलाई ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्यम व्यवसायीले पुनरकर्जामा बैंकहरूले ऋणीबाट ५ प्रतिशत ब्याज लिन पाउने छन् भने विशेष पुनरकर्जामा तीन प्रतिशत र साधारण पुनरकर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने छन् ।

उद्यमी स्वयम् संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा वर्गीकरण गरिएको छ  । 

बैंकले समय समयमा कुनैक्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिने छ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम, व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई समेटेको छ । 

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको १५ लाखसम्मका कर्जाहरू,  प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहेतापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका १५ लाखसम्मका कर्जाहरू पाउने छन् । 

प्राकृतिक प्रकोपका कारण पुनरुत्थान गर्नुपर्ने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवाह भएका थप कर्जाहरू, वैदेशिक रोजगारीबाट फर्केका उद्यमीहरुलाई प्रवाह भएका कर्जाहरु, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्री वितरण, बैंकले समयसमयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यम कर्जाहरू उक्त कर्जाभित्र पर्दछन् ।

Must View