सहमतिमै पार्टी फुटाउने प्रस्तावको खुलासा गरे पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं, १६ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ ।
आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो । शनिबार ११ दिनपछि प्रधानमन्त्री ओलीसंग अध्यक्ष दाहालको भेट प्रधानमन्त्रीको निवास वालुवाटारमा भएको थियो । सो भेटमा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नु भएको थियो । तर ओलीले भने अब पार्टी नै अलग अलग बनाएर लैजानु भलो हुने बताउनु भएको पनि दाहालले खुलासा गर्नु भएको छ ।
आइतबार आफ्नो निवासमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादु थापालाई बोलाएर दाहालले यो जानकारी दिनु भएको हो ।
यता पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार ट्वीट गर्दै पार्टीमा विभाजनको खतरा बढेको उल्लेख गर्नु भएको छ ।