नागरिक पोष्ट News


सक्दिनँ भनेर स्वघोषणा गर्ने सङ्क्रमितको उपचार सरकारले गरिदिन्छ - प्रधानमन्त्री केपी शर्मा ओली

2K

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सङ्क्रमितले उपचार गर्न सक्दिनँ भनेर स्वघोषणा गरे र अस्पतालले उपचार खर्च बेहोर्न सक्दिन भनेको खण्डमा सरकारले निशर्त उपचार गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नागरिकले चुनेको सरकार नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले उपचार पाउनेमा ढुक्क हुन आग्रह गरेका थिए । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोपका लागि पनि नेपालले पहल गरिरहेको दाबी गरेका थिए । यस्तै उनले चाडपर्व हाम्रो संस्कृति भएकाले यसलाई सबैको हित हुने गरी मनाउनुपर्ने बताएका थिए ।

नजिकिंदै गरेको दशैलाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको डर भएकाले एकै ठाउँमा नजिकिएर भन्दा छुट्टिएर दूरी कायम गरेर पर्व मनाउन आग्रह गरेका थिए । आज प्रधामन्त्रीले जनताको नाममा गरेको सम्बोधन यस्तो छ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ । यस महान् अवसरमा सर्वप्रथम म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, प्रगति र समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

बडा दशैं लगायतका हाम्रा चाडपर्वहरु यत्तिकै प्रचलनमा आएका होइनन् । विभिन्न ऐतिहासिक पृष्ठभूमिका आधारमा हाम्रा चाडवाडहरुको विकास भएको छ । समाज निर्माण हुने क्रममा, सभ्यताहरु विकसित र सुगठित हुने क्रममा यस्ता चाडपर्वहरु निर्माण भएका छन् ।

सामाजिक सुप्रबन्ध कायम गर्नका लागि निर्माण भएका यस्ता चाडपर्वहरु, समयक्रममा हासिल भएका अनुभव र अनुभूतिहरुबाट समृद्ध हुँदै प्रयोग र प्रचलनमा रहेका हुन् । नाता, साइनो र सम्बन्ध, तिनको महत्व र मर्यादा एवं तिनको परिपालना र सुप्रबन्धका लागि हाम्रा पूर्वज र अग्रजहरुले बहुतै बुद्धिमत्ताका साथ यस्ता विभिन्न चाडपर्व र उत्सवहरुको विकास गरेका हुन् ।

यी चाडवाडहरु केवल पर्व र उत्सवहरु मात्रै होइनन्, सामाजिक प्रबन्धका आधारहरु हुन् । हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रा मूल्य मान्यताहरु यिनै सामाजिक प्रबन्धहरुका आधारमा विकसित भएका छन् । खासमा चाडपर्वहरु समाजलाई एकीकृत र आकर्षित गर्ने चुम्बकहरु हुन् ।

साथै, समाजलाई सहज सञ्चालन गर्ने लुब्रिकेन्टस हुन् । त्यसैले, यी चाडपर्वहरुका सकारात्मक अन्तर्यहरु, जो महान् र जिवन्त छन्, यिनलाई अपनाउनु र अगाडि बढाउनु आवश्यक छ । त्यसैले यस्ता चाडपर्वहरुलाई नितान्त पुरातन मान्यताका रुपमा मात्रै बुझ्दा र अस्वीकार गर्दा सिङ्गो समाजलाई निरर्थक, निरस र प्रयोजनहीन जस्तो बनाउँछ ।

तर चाडवाडका नाममा हुने गरेका केही नकारात्मक पक्षहरुलाई भने हटाउनु आवश्यक छ । औचित्य र आवश्यकताको वास्तै नगरी, आफ्नो सामथ्र्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउँदा फजूल खर्चमा हौसिने जस्ता अभ्यास कुनै पनि कोणबाट उचित होइनन् । यस्ता अभ्यासलाई सच्याएर हाम्रा चाडपर्वहरुलाई मितव्ययी र उचित बनाउन हामी सबै सजग र सचेत रहनु आवश्यक छ । भनिन्छ नि, बोटबिरुवाको रक्षा गर्नु भनेको ऐंजेरु पाल्नु होइन ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु,

बडा दशैंलाई विभिन्न बर्ष, फरक–फरक परिस्थितिका बीच हामीले मनाउँदै आएका छौं । महाविनाशकारी भूँइचालो गएको साल पनि दशैं आयो, बेघरबार भएका हामीमध्ये कतिले त्रिपाल मुनी बसेर भएपनि यस परम्परालाई धान्यौं ।

पारिवारिक मिलनको चाडका रुपमा बर्षमा एकचोटी हर्षोल्लासका साथ मनाइने यस पर्वमा परदेशमा रहेका आफन्त घर आउन नपाएकोमा दुःखी हुँदै हामीले पटक–पटक यस्ता महान् पर्वहरु मनायौं ।

यस वर्ष हामी, कोभिड–१९ महामारीको भूमरी बीच बडादशैं–२०७७ लाई स्वागत गरिरहेका छौं । यो विश्वव्यापी महामारीले नेपाललाई पनि नराम्ररी प्रभावित गरेको छ । यस घडीमा हामी, परिवारमा सँगै भएकाहरु पनि परपर बस्न बाध्य छौं ।

पहिले–पहिले छुट्टी नमिल्दा र यस चाडपर्वमा घर जान नपाउँदा निराश हुने हामीहरु अहिले छुट्टी मिल्दासमेत चाहेर पनि घर फर्कने र परिवारमा घूलमिल हुने अवस्थामा छैनौं । सतहमा सबै स्वस्थ देखिन्छौं, फेरि पनि कुनबेला ओछ्यानमा पर्नुपर्ने हो र अलग–अलग थन्किनु पर्ने हो, टुङ्गो छैन । अनिश्चय र आशंकाको बीचमा हामी छौं ।

अहिलेको यस विषम परिस्थितिमा हामीले यस महान् चाडलाई विगतमा भन्दा फरक ढंगले मनाउनु परेको छ । आफ्ना मान्यजनहरुसँग टीका जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिदाँ हुनसक्ने संभावित संक्रमणको खतरा ख्याल गर्नुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिहरुमा संक्रमणको संभावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर नै दशैं मनाउनु हुन म सबैमा आग्रह गर्न चाहन्छु । दशैंको मुखमा यस महामारीको संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ ।

दीबहिनी तथा दाजुभाइहरु,

जस्तै अप्ठ्यारोमा पनि हामी नेपालीले साहस र सहजताका साथ दुःखको सामना गर्ने गरेका छौं । यस महामारीले पनि अहिले हाम्रो परीक्षा लिइरहेको छ । अनुशासन, उच्च मनोवल, सतर्कता र पारस्परिक सहयोगबाट यसलाई परास्त गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु । बडादशैं २०७७ को सबैमा हार्दिक शुभकामना ।

Must View