संवैधानिक प्रावधानमा महिलाहरुको सहभागिता सुनिश्चित भएपनि यथार्थमा अझै हुन सकेको छैन : -भवानी डोटेल
२ कात्तिक, काठमाडौं । मन्थनको चौंथो श्रृंखला शनिबार जुमबाट भएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपमेयर भवानी डोटेलले काँठमा विकासका काममा महिलाहरुको सहभागिता अत्यन्त न्यून रहने गरेको बताउनु भएको छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेत धितालले निर्माणसँग सम्बन्धित काममा पुरुषको सहभागिता उल्लेख्य भएपनि तालिम तथा गोष्ठीमा सहभागी हुनेमा महिलाहरु नै बढी भएको बताउनु भयो । तर नगरका नीतिहरु तयार गर्दा महिला पुरुष सवैको सहभागिता हुने गरि गरिएको दावी गर्नु भयो । उहाँले भन्नुभयो नीति भन्ने कुरा महिला र पुरुष दुवैले बनाउने हो ।
स्थानीय तहमा निर्वाचित करिव ४० प्रतिशत महिलाहरुको सहभागिता छ । संवैधानिक प्रावधान अनुसार महिलाहरुको सहभागिता सुनिश्चित भएपनि यथार्थमा अझै हुन नसकको बताउँदै उपमेयर डोटेलले कतिपय अवस्थामा महिलाको संलग्नता मात्रै हुने गरेपनि त्यो नाम मात्रैको सहभागिताका रूपमा रहेको यथार्थलाई मन्थनमा नकार्नु भएन । महिलाहरुको सहभागिता सम्बन्धमा म आफै सन्तुष्ट छैन, हामीले धेरै महिलाहरुलाई विकासका काममा सहभागी गराउनु पर्ने हो तर यहाँको परिवेश अत्यन्तै फरक छ, उहाँले भन्नुभयो । हाम्रो यो काँठमा विकासका काममा महिलाहरुको सहभागिता अत्यन्तै न्यून छ ।
महिलाहरुको सहभागिताको सवाल बलियो हुन नसकेपनि काँठका महिलाहरुको अवस्था राम्रो भएको दावी उहाँको छ । नगरले कतिपय उद्यमी महिलाहरु समेत तयार पारेको र महिलाहरुले आफ्नो परिचय बनाउन सकेको जिकिर पनि गर्नु भयो । समूह र सहकारीमा महिलाहरुको राम्रो सहभागिता रहेको चर्चा उहाँले गर्नु भएको थियो ।
मन्थनमा डा. कान्छी महर्जनले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्दा महिलाहरुको सहभागिता एवं प्रतिनिधित्व नभएको गुनासो गर्नुभयो । स्थानीय पाठ्यक्रम बनाउँदा महिलाको सशक्तिकरण तथा सहभागिताको पाटो सुरु देखि नै पाठ्यक्रममा राख्न सकेको भए महिलाहरुको सहभागितामा आधार बन्न सक्ने धारणा सहभागीहरुले राखेका छन् । उपमेयर डोटेलले यो सुझावलाई आफूले गम्भीर रूपमा लिने र आगामी बैठकमा कुरा राख्ने सहभागीहरुलाई बताउनु भएको छ ।
कार्यक्रममा अष्टेलियाबाट सहभागी मनोज खड्काले महिलाहरुको सहभागितालाई नीतिले सकारे पनि संख्यात्मक उपस्थिति अत्यन्तै नाजुक हुने गरेको अनुभव बताए । महिलाहरुको सहभागिता रहे पनि उनीहरु कति स्वतन्त्रपूर्वक आफनो कुरा राख्न सक्छन् भन्ने महत्वपूर्ण रहेको उनले सुनाए ।
मन्थनको यो श्रृखलामा कृषि अनुसन्धान परिषद (नार्क) का सदस्य एवं लैगिक तथा समावेशी विकास विज्ञ मुना घले, तारकेश्वर नगरपालिकाका कार्यकारी प्रमुख शिव लम्साल एवं महिला विकास शाखाकी प्रतिमा मिश्र लगायत १५ जना सहभागी हुनुभएको थियो ।
कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले बहस मुलक मासिक नियमित छलफल ‘मन्थन’ माचार महिनादेखि हरेक महिनाको पहिलो शनिवार विकास, सँस्कृति र साहित्यमा आधारित वहसहरुको आयोजना गर्दै आएको छ । मन्थन, स्थानीय र राष्ट्रिय विषयहरुमा छलफल गर्न, अन्तरक्रिया गर्दै अनुभव, ज्ञान र सीपहरुको विस्तार र प्रसार गर्ने उद्देश्यले शुरु गरिएको हो ।
नगरमा बसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघसंस्था, अभियानकर्मीहरु तथा विभिन्न सरोकारवालाहरु वीच सम्बन्ध प्रगाढ होस् र आपसी अनुभवहरु एक अर्काप्रति बाँड्ने वातावरण निर्माण भई विकासले गतिलिन सकोस् भनेर मन्थनको नियमित आयोजना गरिएको हो ।
मनमैजु साँस्कृतिक समाज २५ वर्ष अघि कला, सँस्कृति एवं साहित्य तथा सामाजिक विकासको उत्थानका लागि स्थापित तारकेश्वरको अग्रणी संस्था हो । मन्थनको आगामी श्रृखला आउँदो मंसीर ६ गते मादल बोकेर भ्रमण गरेका विश्वले चिनेका तथा नेपालले चिन्न नसकेका वाद्यवादक अर्जुन चैनपुरेले आफ्नो अनुभव तथा संगीतमय प्रस्तुती गर्नु हुनेछ ।