मनै लोभ्याउने काभ्रेको तिनधारे झरना (फोटो र भिडियोसहित)
काभ्रेको रोशी गाउँपालिका–२ स्थित काफल डाँडा आन्तरिक पर्यटकहरुका लागि एउटा गन्तव्य स्थल हो । यस ठाउँमा तिनधारे झरना रहेको छ । काभ्रेको ग्रामीण भूभागमा लुकेर रहेको एक प्राकृतिक सम्पदा हो तिनधारे झरना ।
काठमाडौंदेखि भक्तपुर–बनेपा–धुलिखेल–नमोबुद्ध–दाप्चा–पिपलटार–फलामेसाँघहुँदै पुगिने ठाउँ हो काफलडाँडा । मुख्य सडकबाट १ किलोमिटर कच्ची सडक हिँडेपछि तिनधारे झरना पुग्न सकिन्छ । तीनधारे झरना केही पक्की बाटो र केही अफरोड हुँदै करिव ४ घण्टाको यात्रापछि पुगिने स्थल हो ।
तिनधारे झरना पछिल्लो समय आन्तरिक पर्यटकको रुपमा विकास हुँदै गएको छ । यसलाई संरक्षण तथा प्रवर्धन गर्दै जाने हो भने बाह्य पर्यटकको लागि पनि एउटा राम्रो पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सकिन्छ ।
महाभारत जङ्गलबाट निस्केको मुहानको चिसो पानीको झरनामा रम्दै तस्बिर लिन, नुहाउन र झरनामा लुकामारी खेल्न पाउने भएपछि केही हप्तादेखि सवारी साधनसहित लिएर त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको छ । स्थानीय सरकारले कोरोना सङ्क्रमणको प्रभावका कारण भीडभाड नगर्न आग्रह गर्दै सो ठाउँमा आवतजावत कम गर्न आग्रह गरेको छ ।